अवैधरुपमा भारत प्रवेश गरेको भन्दै चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।
बैतडीसँग सीमा जोडिएको झुलाघाट नाका बन्द हुँदा महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका बझाङका चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिकाका पुस्कर बोहरा, गजेन्द्र बोहरा, जनक बोहरा र बीरबहादुर बोहरा रहेका भारतीय प्रहरीलाई उदृत गर्दै भारतीय पत्रकार प्रमोद भट्टले जानकारी दिए।
सीमानाका बन्द भएका बेला ट्युबबाट भारत गइरहेका चार जनालाई भारतीय प्रहरी र एसएसबीको संयुक्त टोलीले मंगलबार नियन्त्रणमा लिएको र उनीहरु चारैलाई आज अदालतमा पेश गरिने जनाइएको छ।
सीमानाका झुलाघाट बन्द हुँदा रोजगारीका लागि भारत जानेहरु महाकालीमा ट्युबमार्फत जाने गरेका छन्। स्वदेशमा रोजगारी नपाएको भन्दै सैयौं मजदुर कोरोना कहरका बीच भारत गईरहेका छन्। झुलाघाट नाका बन्द हुँदा उनीहरु महाकालीमा ट्युबमा मार्फत तरेर भारत जाने गरेका छन्। रासस

प्रतिक्रिया