नेपालको पर्यटन क्षेत्र चलायमान बनाउन ‘टुरिजम हिरो’ दीपकराज जोशी सक्रिय भएका छन्। पर्यटन बोर्डका निवर्तमान कार्यकारी अधिकृत जोशी कोभिड १९ को बीच पर्यटन क्षेत्रलाई चलायमान बनाउन स्वयंसेवी रुपमा काम गर्दै आएका छन्।
दक्षिण एसियामै पहिलो टुरिजम हिरो अवार्ड प्राप्त गरेका जोशी पर्यटन संघ÷संस्थाले पर्यटन क्षेत्रको गतिविधि बनाउन बनाएको टास्क फोर्समा कोअर्डिनेटरको रुपमा सक्रिय रहेका छन्।
जोशीलाई कोभिड १९ पछिको समयमा पर्यटन क्षेत्रलाई चलायमान बनाउन सक्रिय रहेको भन्दै वल्र्ड टुरिजम नेटवर्कले ‘इन्टरनेशनल हल अफ टुरिजम हिरोज’बाट सम्मानित गरेको हो।
‘सरकारी निकायदेखि व्यावसायिक संघ÷संस्थासँग मिलेर कसरी पर्यटन क्षेत्र चलायमान बनाउन सकिन्छ भनेर लागिरहेको छु’, जोशीले नेपालखबरसँग भने, ‘टास्कफोर्सको तर्फबाट दिएका विभिन्न सुझाव कार्यान्वयन हुँदै पनि छन्।’
उनले नेपालभरिका पर्यटन व्यवसायीले सहयोग मागिरहेको ठाउँमा उपस्थित भएर सक्दो सुझाव दिइरहेको बताए।
जोशीले टास्क फोर्समार्फत पर्यटनसम्बन्धी निकायलाई सकारात्मक निर्णयको लागि सल्लाह सुझाव दिने काम गरिरहेको बताए।
‘कोभिड १९को बीचमा कस्ता गतिविधि गर्न सकिन्छ, कुन देशले के के गरिरेका छन् भन्ने सुझाव तथा जानकारी सम्बन्धित निकायलाई गराउँदै आएका छौँ’, जोशीले भने, ‘हामीले खोज्दै जाँदा विश्वमा अधिकांश देशले आन्तरिक उडान सञ्चालन गरिसकेका तर हामीले नगरेको भेटियो। यो जानकारीसहित आन्तरिक उडान खोल्नुपर्ने हाम्रो सुझाव कार्यान्वयन समेत भइसकेको छ।’
अर्को अहिलेको अवस्थामा विभिन्न निकायबीच समन्वयात्मक भूमिका खेल्ने काम समेत गरिरहेको उनले बताए।
उनीसहितको टास्क फोर्सले पर्यटन गतिविधि बढाउन केके गर्नुपर्छ भन्ने सर्भे पनि गरेको छ। ‘सबैभन्दा बढी सुरक्षा मापदण्ड अपनाई कसरी काम गर्ने भन्ने तालिम र जनचेतना हुनुपर्छ भन्ने माग रहेको छ। उक्त सर्भेको नतिजा पर्यटन बोर्ड, विभाग, मन्त्रालयमा पठाइसकेका छौँ’, उनले जानकारी दिए।
‘पीसीआर नेगेटिभ ल्याउने पर्यटकलाई क्वारेन्टिन राख्नुपर्दैन’
अहिले सरकारले नेपाल आउने पर्यटकले अनिवार्य ७ दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको छ। पर्यटन व्यवसायीले ७ दिन क्वारेन्टिन राख्ने व्यवस्था हटाउनुपर्ने वा बढीमा ३ दिन मात्रै राख्नुपर्ने माग गर्दै आएका छन्।
यसमा पर्यटन मन्त्रालय सकारात्मक भए पनि स्वास्थ्य मन्त्रालय तथा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) अझै सकारात्मक नभएको व्यवसायीले बताउँदै आएका छन्।
पर्यटन क्षेत्रलाई चलायमान बनाउनको लागि बनेको टास्कफोर्सले समेत क्वारेन्टिन बस्ने व्यवस्था हटाउनुपर्ने सुझाव दिएको छ।
‘विभिन्न देशहरुले सुरुमा अन्तर्राष्ट्रिय उडान खोल्दा सबैले क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेका थिए। पछिल्लो समय पीसीआर रिपोर्ट नेगेटिभ ल्याएर आइसकेपछि क्वारेन्टिन बसाल्नुपर्दैन भन्ने धारणा आएको छ’, जोशीले भने, ‘बरु पर्यटक आएको केही दिनमा एन्टिजिन परीक्षण गर्दा उपयुक्त हुने सुझाव दिएका छौँ। यसमा स्वास्थ्य मन्त्रालयले स्वीकृति पनि दिएको छ।’
उनले अहिले विभिन्न देशले ४ दिनभित्रको पीसीआर नेगेटिभ रिपोर्ट ल्याएर आए क्वारेन्टिन बस्नु नपर्ने व्यवस्था गरिरहेको बताए।
पीसीआर नेगेटिभ रिपोर्ट ल्याएर आउँदा कोभिड फैलने जोखिम एकदमै न्यून देखिएको अध्ययनले देखाएको छ। त्यसैगरी टास्क फोर्सले अनअराइभल भिसा सहज गर्नुपर्ने सुझाव दिएको छ।
‘हाम्रा भिसा दिने आउटलेट धेरै छैनन्। पीसीआर नेगेटिभ रिपोर्ट ल्याएर आउनेलाई अन अराइभल भिसा दिने व्यवस्था गर्नुपर्छ’, जोशीले भने।
सरकारले कात्तिक १ देखि हिमाल आरोहण र पदयात्राका लागि पूर्वस्वीकृति लिएर अनअराइभल भिसा दिने व्यवस्था गरेको छ। टास्क फोर्सले एकदमै भीडभाड हुने क्षेत्रबाहेक सबै पर्यटकीय गतिविधि खोल्नुपर्ने सुझाव दिएको छ।
सीसीएमसीले समेत अन्य पर्यटकीय गतिविधि पनि खोल्नुपर्छ भनेर मन्त्रिपरिषदमा सिफारिस गरिसकेको छ। साहसिक पर्यटनसहित हेरिटेज साइटको साइट सिन, जंगल सफारी लगायतका गतिविधि खोल्दा कम जोखिम हुने टास्क फोर्सको सुझाव छ।
Shares

प्रतिक्रिया