भारतमा गरिएको एक अनुसन्धानले जहाँ सरसफाइकाे स्तर कमजाेर छ, खानेपानीको गुणस्तर पनि राम्रो छैन, त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुने जोखिम कम पाइएको देखाएको छ।
यसको उल्टो जुन ठाउँ एकदम विकसित छ, सरसफाइ अत्यन्तै राम्रो छ, खानेपानी गुणस्तरीय छ, त्यहाँचाहिँ काेराेनाबाट भाइरसको संक्रमणबाट मर्ने जोखिम ज्यादा पाइएको छ।
यो आश्चर्यजनक तथ्य सेन्टर फर साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्चका वैज्ञानिकले सार्वजनिक गरेका हुन्।
वैज्ञानिकका अनुसार न्यून आय भएका मुलुकमा परजीवी र ब्याक्टेरियाबाट फैलिने रोग धेरै हुन्छ। जसले गर्दा त्यहाँ बसोबास गर्ने मानिसको प्रतिरक्षा प्रणाली रोगसँग लड्न तयार भएर बस्छ।
वैज्ञानिक परिभाषामा यसलाई इम्युन हाइपोथेसिस भनिन्छ। यो प्रतिरक्षा प्रणालीका लागि एउटा प्रशिक्षणजस्तो हुन्छ। पहिले नै संक्रमणसँग लडाइँ गरिसकेकाे हुने भएकाले त्यस्ता मानिसलाई कोरोनाबाट मृत्यु हुने जोखिम कम हुन सक्छ।
भारतमा गरिएकाे अनुसन्धान यस्तो
बिहार, झारखण्ड, केरल र असमा मृत्यु दर कम
वैज्ञानिकका अनुसार यसलाई केस फ्याटलिटी रेसियो (सीएफआर) बाट बुझ्न सकिन्छ। याे भनेको महामारीका कारण हुने मृत्युको अनुपात हो। जस्ताे : सामाजिक एवं आर्थिक रूपमा पछि परेकाे बिहारमा कोरोना कारण हुने मृत्यु दर ०.५ प्रतिशत छ, यो देशभरको औसत मृत्यु दरको एकतिहाइ हो।
यस्तै केरल (०.४ प्रतिशत), असम (०.४ प्रतिशत), तेलंगना (०.५ प्रतिशत), झारखण्ड (०.९ प्रतिशत) र छत्तीसगढ (०.९ प्रतिशत) जस्ता राज्यमा काेराेनाबाट हुने मृत्यु कम पाइएकाे छ।
महराष्ट्र, गुजरातजस्ता विकसित राज्यमा मृत्यु दर बढी
अनुसन्धानका अनुसार महराष्ट्र, गुजराज र पन्जाबजस्ता विकसित राज्यमा मृत्यु दर २ प्रतिशत वा याेभन्दा बढी पाइएकाे छ। यो अनुसन्धान पानीको गुणस्तर, सरसफाइको स्तर र प्रति १० लाख कोरोना संक्रमितमा हुने मृत्युको संख्यामा आधारित रहेकाे वैज्ञानिकले बताएका छन्।
संक्रमणले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ
पहिले भएको संक्रमणबाट शरीरको प्रतिरक्षा प्रणालीमा परेको असरबारे अध्ययन गरिएको थियो। त्यस क्रममा परजीवी र ब्याक्टेरियाको संक्रमण भइसकेका मानिसमा रोग प्रतिरोधात्मक शक्ति सशक्त बनेको पाइयो।
अनुसन्धानमा टोलीका एक अनुसन्धानकर्ता महामारी विशेषज्ञ प्रवीणकुमार भन्छन्, ‘कम सरसफाइ भएका क्षेत्रमा कोरोनाबाट हुने मृत्यु दर कम पाइयो।’
तर प्रतिरक्षा प्रणालीबारे सबै तथ्य पत्ता लागिनसकेको तथा यो विषय बृहत् र गम्भीर भएकाले अझै विस्तृत अध्ययनको आवश्यकता पर्ने उनको भनाइ छ।
अनुसन्धानमा सेन्टर फर साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्चसहित नेसनल सेन्टर फर सेल साइन्स पुणे र चेन्नई म्याथमेटिकल इन्स्टिच्युट पनि संलग्न थिए। स्राेत : दैनिक भास्कर
Shares

प्रतिक्रिया