सरकारले कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने नीति बनाएसँगै काभ्रेको धुलिखेल अस्पतालले कोरोना उपचारको शुल्क निर्धारण गरेको छ।
सूचना प्रकाशन गरी धुलिखेल अस्पतालले कोरोना संक्रमणको परीक्षण र उपचार गर्दा अवस्थाअनुसार किसिमकिसिमका शुल्क लाग्ने जानकारी दिएको हो।
सूचनाअनुसार कोरोनाका सामान्य लक्षण देखिएका बिरामीका लागि दैनिक शुल्क ३ हजार ५ सय, मध्यम बिरामीका लागि दैनिक ७ हजार र जटिल संक्रमितका लागि दैनिक १५ हजार रुपैयाँ शुल्क लाग्ने छ।
औषधि तथा कुनै परीक्षण गर्नुपरेमा थप शुल्क लाग्ने अस्पतालले जनाएको छ।
सामान्य लक्षण देखिएका संक्रमित भर्ना गर्नुपर्दा ५० हजार रुपैयाँ धरौटी पनि जम्मा गर्नुपर्ने सूचनामा उल्लेख छ।
त्यसैगरी मध्यम जटिल बिरामी भर्ना गर्दा १ लाख र जटिल बिरामी भर्ना गर्दा २ लाख रुपैयाँ धरौटी रकम जम्मा गर्नुपर्ने धुलिखेल अस्पतालले जनाएको छ।
प्रतिक्रिया