इटालीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएको छ। पुनः संक्रमण बढ्न थालेपछि इटाली सरकारले प्रतिबन्धात्मक नियमहरु लागू गरेको छ।
लकडाउनको विकल्पमा प्रतिबन्धात्मक नियमहरु घोषणा गरिएको प्रधानमन्त्री जुसेपे कोन्तेले बताएका छन्। फेरि लकडाउनको अवस्था आउन नदिन प्रतिबन्धात्मक उपायहरु लागू गर्नु परेको उनको भनाई छ।
स्कुलका माथिल्लो कक्षाका विद्यार्थीको विद्यालय समय कम गर्ने तथा सकेसम्म घरबाटै अध्ययन गर्ने व्यवस्था मिलाउने इटाली सरकारले जनाएको छ।
त्यस्तै बार तथा रेस्टुरेन्ट मध्यरातमा बन्द गर्नुपर्ने, बढीमा एक समूहमा ६ जनासम्म मात्र जम्मा हुन पाउने तथा स्थानीय स्तरमा सभा सम्मेलन तथा उत्सवहरु गर्न नपाइने प्रतिबन्धात्मक नियममा उल्लेख छ।
इटालीमा केही दिनयता लगातार सङ्क्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ७ सय ५ जना नयाँ संक्रमित थपिएका छन्। युरोपियन देशमध्ये इटालीमा सबैभन्दा पहिले कोरोना संक्रमण सुरु भएको थियो।
६ महिनाअघि संक्रमणको कारण इटाली तहसनहस भएको थियो। इटालीसँगै युरोपका अरु केही देशहरुमा पनि कोरोना संक्रमण बढ्दै गएको छ।
इटालीमा अहिलेसम्म कोरोना संक्रमणबाट ३६ हजार पाँच सय ४३ जनाले ज्यान गुमाइसकेका छन्। त्यहाँ संक्रमितको संख्या चार लाख १४ हजार नाघेको छ।
त्यसैगरी संक्रमणको कारण बेलायतमा ४३ हजार ६ सय ४६, ब्राजिलमा एक लाख ५३ हजार नौ सय पाँच, अर्जेन्टिनामा २६ हजार भन्दा धेरै, मेक्सिकोमा ८६ हजार भन्दा धेरैले ज्यान गुमाएका छन्। ऐजेन्सीको सहयोगमा

प्रतिक्रिया