प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले दसैं भत्ता बाँडेर सरकारले आफूजस्तै सांसदलाई पनि बदनाम गराउन खोजेको आरोप लगाएका छन्।
साेमबार विज्ञप्ति जारी गरी उनले जनतालाई कोरोना संक्रमण भएमा आफ्नै खर्चमा उपचार गर्न भन्ने सरकारले सांसदलाई चाहिँ दसैं भत्ता बाँडेर आफूजस्तो सांसदलाई पनि जनतामाझ बदनाम गराउन खोजेको आरोप लगाएका हुन्।
‘आफू भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दसैं भत्ताका नाममा बदनाम गर्ने दुराशय राखेको प्रस्ट छ,’ सिंहले विज्ञप्तिमा भनेका छन्, ‘महामारीका बेला सांसदहरुलाई दसैं भत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ।’
‘एकातिर जनतालाई पीसीआर परीक्षणसमेत आफ्नै खर्चमा गर भन्ने र अर्कातिर संघीय संसदका सांसदहरुलाई दसैं भत्ता दिने सरकारी निर्णय निन्दनीय’ रहेकाे उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया