समाज


लामो समयदेखि मिलेर जग्गा दलाली, कारोबार नमिल्दा मान्छे लगाएर साथीको हत्या

लामो समयदेखि मिलेर जग्गा दलाली, कारोबार नमिल्दा मान्छे लगाएर साथीको हत्या

नेपालखबर
असोज २७, २०७७ मंगलबार ७:४४,

रामेछापको सोनापति गाउँपालिका ३ का चन्द्रबहादुर योञ्जनले रकम तिर्न आनाकानी गरेपछि उनको हत्या भएको पाइएको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ८ बस्दै आएका योञ्जनले आफूलाई रकम तिर्न बाँकी रहेको र त्यही रकम अशुल गर्न कुटपिट गरेको शेर्पा भन्ने कामी लामाले बताएका छन्।

कामी लामा र चन्द्रबहादुर मिलेर जग्गा दलालीको काम गर्दै आएका थिए। जग्गा कारोबारकै क्रममा चन्द्रबहादुरले कामीसहितका व्यक्तिलाई करिव १६ लाख रुपैयाँ दिन बाँकी रहेको तर उनले त्यो रकम लामो समयदेखि नदिएपछि कामीले उनलाई कुटपिट गरेर रकम असुल्न अन्य व्यक्तिको प्रयोग गरेको पाइएको छ।

कामीले लगाएका रमेश र प्रेमले कुटपिट गर्दा गम्भीर घाइते भएका चन्द्रबहादुरको असोज २२ गते ज्यान गएको थियो।

कामीले आफ्नो रकम असुल्नकै लागि रमेश तामाङलाई समेत बोलाएका थिए। असोज १८ गते उनीहरुले मृतक योञ्जनको घर पहिचान गरी नयाँ बस्तीमा बसेर योजना बनाएको अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए।

असोज २१ गते रमेश तामाङ र प्रेम तामाङ मोटरसाइकलमा भक्तपुर गएर कामी लामालाई भेटेका थिए। दिउँसोको करिब साढे ४ बजे चन्द्रबहादुरको पसलमा गएर उनीहरुले वियर खाएका थिए।

त्यही क्रममा उनीहरुले आफन्तलाई जग्गा चाहिएको बताए। जग्गा बिक्रीबाट आउने फाइदा भने बाँड्नु पर्ने शर्त राखे। योञ्जनसहित उनीहरु जग्गा हेर्ने बहानामा बिडोलफाँटतर्फ गए।

एकान्तमा रहेको धानखेतमा पुगेपछि उनीहरुले कुटपिट गर्न थाले। अनुहार, छाती र पेटमा लात्ती र हातले नै कुटपिट गरी योञ्जनलाई घाइते बनाए। योञ्जनले लगाएको २ तोला २ लालको सुनको ब्रासलेट र मोवाइल लुटेर उनीहरु फरार भएका थिए।

चन्द्रबहादुरको भने ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा भोलिपल्ट ज्यान गएको थियो।

घटनाको एक सातापछि राजधानीका विभिन्न स्थानबाट अपराध महाशाखाले हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेका तीन जानालाई माहाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ का ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, सिन्धुपाल्चोकको चौतारा बतासे नगरपालिका २ का २३ वर्षीय रमेश तामाङ र रामेछापको धोवी गाउँपालिका ५ का २७ वर्षीय प्रेम तामाङ रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad