कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउन भनी अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको एउटा समूह पछि हटेको छ।
शाहीलाई हटाउन त्यहाँको ओलीपक्षीय समूहलाई आइतबार साथ दिएको माधव नेपाल पक्ष आज मंगलबार पछि हटेको हो।
‘हामी ब्याक भयौं। अविश्वासको प्रस्तावमा बहुमत नपुग्ने भएपछि यो विषय अब ढिसमिस भएको छ,’ माधवकुमार नेपालनिकट एक केन्द्रीय सदस्यले भने, ‘अब कसरी अघि बढ्ने भन्ने विषयमा मुख्यमन्त्री र अन्य पक्षहरुसँग छलफल भइरहेको छ। मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा अहिले छलफल जारी छ।’
शाहीलाई हटाउन हस्ताक्षर गरेकाहरुबीचमै विभाजन आएपछि सो प्रदेश सरकारमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीनिकट केही मन्त्रीहरुले भने राजीनामा दिने तयारी गरेका छन्।
स्थायी समिति सदस्य सुवास नेम्वाङलाई फोन गरेर उनीहरुले राजीनामाको मनस्थिति बनाएको जानकारी दिएका थिए।
तर आफूले अहिले त्यसो नगर्न र प्रधानमन्त्रीको निर्देशन पर्खन सुझाव दिएको नेम्वाङले नेपालखबरलाई बताए।
‘मलाई दुईजना मन्त्रीले फोन गरेर साथीहरुले राजीनामा दिने भन्दै हुनुहुन्छ के गरौं भनेर सोध्नुभएको थियो, मैले त्यसो नगर्नुस्, समस्यालाई चर्काउने होइन सुल्झाउन मद्दत गर्नुस् भनेको छु,’ नेम्वाङले भने, ‘केन्द्रमा प्रधानमन्त्री र पार्टी अध्यक्षले जे भन्नुहुन्छ त्योअनुसार चल्नुपर्छ त्यसैले अहिले उहाँहरुले के भन्नुहुन्छ पर्खिनुस् भनेको छु।’
उनले अहिले केन्द्रमा शीर्ष नेताहरु पनि विवाद मिलाउन लागिरहेको हुँदा तत्काल राजीनामा गर्नेपट्टि नजान आफूले भनेको बताए।
उनका अनुसार हस्ताक्षर अभियानको नेतृत्व गरिरहेका यामलाल कँडेलले पनि नेम्वाङलाई फोन गरेका थिए।
‘कँडेलले आँफै फोन गरेर, त्यहाँको प्रक्रियाको बारेमा सोध्नुभयो, अनि मैले त्यहाँ जे भइरहेको छ, त्यो राम्रो भएन, हामी यहाँ पार्टीलाई मिलाउन लागिरहेका छौं, यो बेलामा कर्णालीमा जे भइरहेको छ, त्यसले अप्ठेरो बनाएको छ। त्यसैले त्यहाँ मिलाउन पट्टि लाग्नुस् भनेको छु,’ उनले भने, ‘अहिले प्रक्रिया अगाडि बढाउने कुरापट्टि नलाग्नुस् भनेर मेरो राय दिएको छु।’
नेम्वाङले प्रक्रियाबारे आफूलाई नसोध्न भनेपछि कँडेलले ठीकै छ भनेर हाँसेकाे बताए।
याे पनि:
कर्णाली मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्ने १८ सांसदको समूहमा विभाजन
Shares

प्रतिक्रिया