समाज


डा. केसीको पक्षमा माइतीघरमा प्रदर्शन

डा. केसीको पक्षमा माइतीघरमा प्रदर्शन

नेपालखबर
असोज २४, २०७७ शनिबार ८:४२,

अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका डा.केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै उनको जीवनरक्षाको माग गर्दै शनिबार माइतीघरमा प्रदर्शन भएको हो।

बिहीबारबाट डा. केसी र सरकारी पक्षबीच वार्ता भइरहे पनि सफल हुन सकेको छैन। वार्तालाई असफल बनाएर सरकारले केसीको जीवन नै समाप्त पार्ने नियत देखिएको केसी समर्थकहरुको भनाइ छ।

प्रदर्शनमा सहभागी वार्ता टोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले असोज २२ गते सरकारी पक्षसँग समझदारी भए पनि प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको निर्देशनमा रोकिएको बताए। प्रधानमन्त्री र मन्त्रीको निर्देशनले वार्ता रोकिनुको कारण केसीको जीवनमा जुनसुकै घटना भए पनि आफूहरुलाई सरोकार नै छैन भन्ने नकारात्मक सोचाइ भएको उनले बताए।

माइतीघरमा भएको प्रदर्शनमा ‘माफियाको समाजवाद, यती, ओम्नी, मार्सी भात’, ‘सत्याग्रही मार्न खोज्ने सरकार धेरै दिन टिक्दैन’, ‘डा केसीको माग पूरा गर’, ‘दूरदराजमा मेडिकल शिक्षा खै?’ लगायतका नारा लगाएका छन्।

सरकार र डा केसी पक्षले वार्ता टोली गठन गरेर बिहीबार र शुक्रबार वार्ता गरिएको थियो । बिहीबार केही समझदारी भए पनि शुक्रबार राति भएको वार्तामा सरकारी पक्ष पछि हटेको डा केसी पक्षधरको भनाइ रहेको छ। केसी पक्षले यसअघि नै विज्ञप्ति निकाल्दै सरकार समझदारीबाट पछि हटेको बताइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad