ad ad

समाज


सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु

सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु

नेपालखबर
असोज ९, २०७७ शुक्रबार १०:१५,

कोरोनाबाट संक्रमणबाट थप एक सप्तरीवासीको मृत्यु भएको छ। राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान मृत्यु भएको हो।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा भदौ २५ गते संक्रमण पुष्टि भए पनि परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको उनका छोराले बताए। रक्तचापका बिरामी उनको अवस्था गम्भीर भएपछि १२ दिनअघि उपचारार्थ धरान भर्ना गरिएको थियो। उनको शव अहिले धरानमै छ।

उनका जुम्ल्याहा दाजुको श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि धरान लैजाँदै गर्दा गत भदौ १३ गते बाटा नै मृत्यु भएको थियो। दाजुको पीसीआर परीक्षण भने गरिएको थिएन। यससँगै सप्तरीमा मृत्यु हुने कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

कञ्चनरुप नगरपालिका कार्यालय बन्द
कञ्चनरुप नगरपालिकाका कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय आजदेखि एक साताका लागि बन्द गरिएको छ। नगरपालिकाले आज सूचना जारी गरी आजदेखि यही असोज १५ गतेसम्मका लागि कार्यालय सिल गरिएको जनाएको छ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले जारी गरेको सूचनाअनुसार नगरपालिकाबाट प्रवाह हुने शिक्षा स्वास्थ्य, कृषि, पशुलगायत नगरपालिका वडा नम्बर ८ बाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गरिएको छ।

गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणअनुसार कञ्चनरुप–८ बस्ने कार्यालय सहयोगीमा बिहीबार कोरोना संक्रमण देखिएको थियो।

संक्रमण पुष्टि भएका कार्यालय सहयोगीका दुई छोरी र सँगै कार्यरत अर्का कार्यालय सहयोगीको पीसीआर परीक्षणका लागि आज स्वाब संकलन गरिएको र अन्य कर्मचारीको आगामी मंगलबार स्वाब संकलन गरिने जानकारी खड्काले दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .