समाज


एक महिनासम्म पनि पाइँदैन वीरमा कोरोना रिपोर्ट

एक महिनासम्म पनि पाइँदैन वीरमा कोरोना रिपोर्ट

नेपालखबर
असोज ४, २०७७ आइतबार १३:३१,

वीर अस्पतालले कोरोना संक्रमण पुष्टि भएको एक महिनासम्म पनि रिपोर्ट नदिएको बिरामीहरुले गुनासो गरेका छन।

भदौ ३ गते कोरोना पुष्टि भएका रवी चौधरीले पटक पटक अस्पताल धाउँदा समेत रिपोर्ट नपाएको गुनासो गरे।

‘मैले अस्पतालमा पीसीआर जाँच गराउँदा भदौ ३ गते कोरोना पुष्टि भएको थियो। त्यसको एकहप्तादेखि मैले रिपोर्टको कागज माग्न थालेको हुँ,’ चौधरीले भने, ‘आज निको भएको एकमहिना पुग्दासमेत मैले मेरो रिपोर्ट पाएको छैन।’

अस्पतालले मोबाइल नम्बरमा मेसेज पठाएर परीक्षणको नतिजाबारे जानकारी गराए पनि त्यसको औपचारिक रिपोर्ट नदिँदा झन्झट बेहोर्नु परेको उनले बताए।

कोरोना बीमा गरेका चौधरीले जतिसक्दो चाँडो बीमा दाबी गर्नुपर्ने भएकाले उनलाई कोरोना परीक्षणको रिपोर्ट चाहिएको हो।

उनीजस्ता समयमै रिपोर्ट नपाउने अरु व्यक्तिहरु पनि रिपोर्ट दिने स्थानमा पुग्दा झगडा हुने स्थिति सिर्जना हुने गरेको छ।

‘रिपोर्ट वितरण गर्ने ठाउँमा आएकै छैन भनेर ढोका नै बन्द गरिदिन्छन। तपाईहरुको रिपोर्ट दिनेबाहेक हाम्रो अरु केही काम छैन र भनेर झोक्किन्छन्। कहिले तलबाट माथि पठाउँछन्, कहिले माथिबाट तल,’ उनले भने, ‘बिहान दैनिक झडपको स्थिति हुन्छ। आज तनाबको स्थिति नै सिर्जना भएको थियो प्रहरी आएर दुर्घटना हुन पाएन।’

पीसीआर जाँचको रिपोर्ट बीमा दाबी गर्न, कार्यायलमा जान, विदेश जान लगायत विभिन्न काममा आवश्यक पर्छ। तर अस्पतालले समयमै रिपोर्ट नदिदा परीक्षणकर्ताहरु मर्कामा परेका छन।

अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले भने कामको चापले गर्दा केही समय ढिलो भएको स्वीकारे। उनले एकहप्ता भित्र रिपोर्ट दिइसक्ने दाबी गरे।

‘सुरुमा स्वास्थ्य मन्त्रालयले नै बिरामीको रिपोर्ट तत्कालै हातमा दिदा संक्रमितको सम्पर्कमा भएकाहरु कन्ट्याक्ट ट्रेसिङका लागि सम्पर्कमा नआइदिने भएकाले रिपोर्ट नदिनु भनेको थियो,’ डा. सेञ्चुरीले भने, ‘त्यही भएर पूराना रिपोर्टहरु बाँकी थिए।’

पछिल्लो समय भने कामको दबाबलगायत कारणले गर्दा रिपोर्ट तत्काल दिन सम्भव नभएको उनको दाबी छ। ‘हामी अहिले बढमिा एक हप्ताभित्र दिइसक्छौं,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad