समाज


सुरुमै लकडाउन गर्दा पनि भारत कोरोनाको एपिसेन्टर बन्नुका ५ कारण

सुरुमै लकडाउन गर्दा पनि भारत कोरोनाको एपिसेन्टर बन्नुका ५ कारण

नेपालखबर
असोज ४, २०७७ आइतबार १३:१०,

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघिसकेको छ। यससँगै भारत कोभिड–१९ को नयाँ एपिसेन्टर बन्दैछ। जम्मा संक्रमितको संख्यामा भारतले ब्राजिललाई यसअघि नै उछिनिसकेको छ। यही हिसाबले जाने हो भने आगामी चार हप्तामा अमेरिकालाई पनि उछिन्ने देखिन्छ।

संक्रमितको संख्याको आधारमा भारतको सबैभन्दा नजिक छन् अमेरिका र ब्राजिल। यी तीनै देशमा दक्षिणपन्थी नेता भएकाले महामारीप्रति यिनको प्रतिक्रिया एउटै खालको थियो भन्ने तर्क आकर्षक लाग्न सक्छ।

तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिली राष्ट्रपति जायर बोल्सोनारोभन्दा बिल्कुल भिन्न प्रतिक्रिया जनाएका थिए।

ट्रम्प र बोल्सोनारोले सामाजिक दुरी, मास्क, लकडाउनजस्ता उपायको विरोध गरिरहँदा मोदीले भने भारतमा संक्रमितको संख्या ५ सय नाघ्नेबित्तिकै लकडाउन घोषणा गरेका थिए। तथापि भारतले सुरुवाती चरणमै महामारीलाई रोक्न सकेन। किन?

१. लकडाउन जादुको छडी होइन
लकडाउने संक्रमण स्वाट्टै हटाउने होइन। यसले त संक्रमितको संख्या न्यून राख्न मात्रै सघाउने महामारी रोग विशेषज्ञ गिरिधर बाबु बताउँछन्। यद्यपि लकडाउनले सो समयमा संक्रमण दर न्यून राखेको र हालसम्म ठूलो संख्याको मृत्यु रोक्नमा मार्च, अप्रिल र मे महिनाको लकडाउनले सहयोग गरेको इन्डियन काउन्सिल फर मेडिकल रिसर्चका महानिर्देशक बलराम भार्गव बताउँछन्।

२. बाक्लो बस्ती
भारतमा संक्रमण फैलिनुको मुख्य कारण हो बाक्लो बस्ती। मुम्बई, पुणे लगायतका सहरमा गरिएको सेरोलजिकल सर्वेक्षणमा जहाँ झुपडी बस्ती छन्, त्यहाँ धेरैमा एन्टीबडी देखिएको थियो। त्यस्तै व्यक्तिगत चर्पी नभएको ठाउँमा बढी सेरो–पोजिटिभिटी देखिएको थियो।

‘बाक्लो जनघनत्व, साझा चर्पी, धाराजस्ता कारणले झुपडी बस्तीहरुमा संक्रमण दर उच्च भएको हुनसक्छ,’ मुम्बई सेरो–सर्वेका प्रमुख अध्येता उल्लास कोल्थुर बताउँछन्।

३. प्रशासनिक अक्षमता
महामारी आउँदै गर्दा धेरै राज्यहरुले स्वास्थ्य सेवा केन्द्र तयार गर्नै नसकेको देखिएको छ। गिरिधर बाबुका अनुसार तमिलनाडु र कर्नाटकले महामारी सुरु भएलगत्तै सरकारी अस्पतालमा अक्सिन प्रणाली जोडे। जसले मृत्युदर कम राख्न पनि योगदान दियो।

तर, महाराष्ट्रका सहरहरुमा अहिले अक्सिजनको अभाव भइरहेको छ। भौतिक संरचनाका अलावा जनशक्तिको अभाव, भेन्टिलेटर, औषधि, आदिको कमजोर व्यवस्थापन पनि यसका लागि जिम्मेवार छ। यसबाहेक कन्ट्याक्ट ट्रेसिङ फितलो रह्यो।

४. परीक्षणमा समस्या
सुरुवाती केही महिनामा भारतले पर्याप्त परीक्षण गर्न नसकेको भन्दै सरकारको आलोचना भयो। अहिले पनि भारत १९३ मुलुकमध्ये प्रति १० लाख जनसंख्यामा गरिएको परीक्षणको आधारमा ११५ औँ स्थानमा छ।

त्यस्तै, राज्यहरुले प्रयोग गर्ने परीक्षण विधिमाथि पनि प्रश्न उठेको छ। जुनयता उनीहरुले ठूलो मात्रामा एन्टिजेन टेस्ट गरिरहेका छन्। तर, यो पीसीआरजति संवेदनशील छैन। त्यसैले लक्षण भएका तर एन्टिजेन नेगेटिभ देखिएका व्यक्तिलाई पीसीआर गर्नुपर्ने निर्देशन दिइएको छ।

तर, थुप्रै राज्यमा यसरी एन्टिजेन परीक्षण गर्दा छुटेका पोजिटिभ केसहरुलाई पीसीआरमार्फत निक्र्यौल गर्ने संयन्त्र नै छैन। यो पनि संक्रमण फैलिनका लागि जिम्मेवार रहेको स्वास्थ्य सचिव राजेश भुषणले गत सता बताएका थिए।

५. सिमित राहत
केही स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरस फैलिनुको दोष ‘अनुशासनहीन’ नागरिकलाई दिन थालेका छन्। तर, महामारी र लकडाउनले देशका गरिबहरुको जीवनमा पु¥याएको असरलाई हेर्ने हो भने यसको दोष व्यक्तिलाई दिनु अन्याय हुन्छ।

सेन्टर फर मनिटरिङ द इन्डियन इकोनोमीको तथ्यांकअनुसार अप्रिलमा मात्र १२ करोड मानिसले रोजगारी गुमाए। अहिले त्यसको केही हिस्साले रोजगारी पाइसकेको छ। तर, तिनका लागि राज्यले दिने सहयोग अपर्याप्त छ। लाइभमिन्ट डटकमबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad