चितवन मेडिकल कलेजमा उपचारका क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कलेजका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिकाका पुरुष र हेटौंडा उपमहानगरपालिकाकी महिला रहेका छन्।
कलेजमा उपचार क्रममा हेटौंडा उपमहानगर–१० कि १७ वर्षीया किशोरी रहेको कलेजका निर्देशक प्राडा दयाराम लम्सालले जानकारी दिए।
उनका अनुसार गत भदौ २२ गते ज्वरो र स्वाशप्रस्वासमा समस्या आएर अस्पताल भर्ना भएकी उनमा भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ।
यस्तै सोही कलेजमा उपचारका क्रममा चितवनका एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुष रहेका छन्। निर्देशक लम्सालका अनुसार गत भदौ २६ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या भई अस्पताल भर्ना भएका उनको असोज ३ गते कोरोना पुष्टि भएको थियो।
उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ। उक्त अस्पतालमा हालसम्म १४ जना संक्रमितको मृत्यु भईसकेको छ।
जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ। जसमध्ये १८ जना चितवनका हुन्। रासस
Shares

प्रतिक्रिया