समाज


प्रदेश ५ मा २७ वटा बीओपी निर्माणका लागि जग्गा अभाव

 प्रदेश  ५ मा २७ वटा बीओपी निर्माणका लागि जग्गा अभाव

प्रकाश न्यौपाने
असोज २, २०७७ शुक्रबार ८:२२,

प्रदेश पाँचमा पर्याप्त जग्गा अभावमा बोर्डर आउट पोस्ट (बीओपी) निर्माणमा समस्या देखिएको छ।

सीमा सुरक्षा तथा निगरानीका लागि सरकारले नेपाल–भारत सीमा क्षेत्रमा थप बीओपी निर्माण गर्ने निर्णय गरेको छ। सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा गर्दै आएको छ। तर, प्रदेश पाँचमा भने जग्गा प्राप्तिमा समस्या भएपछि बीओपी निर्माण प्रभावित भएको छ।

प्रदेशका नेपाल–भारत सीमामा ३१ वटा बीओपी यसअघि नै बनाइएको छ। विभिन्न चरणमा गरेर २८ वटा बीओपी थप्ने तयारी गरे पनि अहिलेसम्म रुपन्देहीको बुचीमा मात्रै निर्माण गरिएको छ। अब २७ बीओपी बनाउनु पर्नेछ। अधिकांश ठाउँमा जग्गा अभाव छ। ‘सीमा क्षेत्रमा जग्गा व्यवस्थापन नहुँदा समस्या भएको छ। स्थापना गरेको एउटा बीओपी पनि तत्काल भाडाको घरमा बनाइएको हो’, सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्धवासिनी बाहिनी मुख्यालय रुपन्देही, चन्द्रौटाका बाहिनीपति सशस्त्र प्रहारी नायव महानिरीक्षक (डीआईजी) किशोर प्रधानले भने।

खासगरी बीओपी निर्माण गर्ने उपयुक्त स्थानमा सरकारी जग्गा नहुँदा समस्या देखिएको हो। प्रदेश पाँचमा भारतसँग सीमा जोडिएको चार सय ३६ किलोमिटर क्षेत्र छ। २०६४ सालदेखि सशस्त्रले सीमावर्ती अपराध नियन्त्रण र सीमाको निगरानी गर्दै आएको छ। अहिले ३२ वटा बीओपीबाट सीमाको सुरक्षा हुँदै आएको छ। सीमानाकामा पर्ने स्थानीय तहसँग समन्वय गरिरहे पनि थप बीओपी राख्न जग्गा पाइएको छैन्।

‘कतिपय ठाउँमा जग्गा प्राप्ति त भएको छ तर जुन ठाउँमा बीओपी बनाउन उपयुक्त हुन्छ भनेर हामीले रोजेका छौं, ती अधिकांश स्थानमा जग्गा पाइएको छैन। जसले गर्दा उपयुक्त स्थानभन्दा केही टाढा बीओपी बनाउनु पर्ने अवस्था आएको छ भने धेरै ठाउँमा जग्गा नै पाइएको छैन’, डीआईजी प्रधानले भने।

अहिले एउटा बीओपीबाट अर्को बीओपीको दूरी १५ किलोमिटरको हाराहारीमा छ। जसले गर्दा सीमाको निगरानी फितल छ । अहिले नवलपरासीमा ४ बीओपी छन् भने २ निर्माण गर्न बाँकी छन्। यस्तै, रुपन्देहीमा ६ वटा छन् भने बाँकी ४, कपिलवस्तुमा ७ वटा बनेका छन् ५ वटा थप्नु पर्ने छ। दाङमा ३ बीओपी छन् भने ९ वटा निर्माण गर्नु पर्नेछ। बाँकेमा ७ वटा निर्माण गरिएको छ भने बाँकी ३ र बर्दियामा ५ वटा पहिल्यै छन् भने बाँकी ४ वटा निर्माण गर्नुपर्ने छ।

यसरी थप २७ बीओपी निर्माण भएमा एउटाबाट अर्को बीओपीको दूरी कम्तिमा ५–७ किलोमिटरको अन्तरमा हुनेछ। यसले सीमावर्ती क्षेत्रमा हुने अपराध, सीमा सुरक्षा, सीमा स्तम्भको निगरानी, अवैध क्रियाकलाप नियन्त्रणमा थप मद्दत पुग्ने र स्थानीय नागरिकले पनि शान्ति सुरक्षा पाउने प्रधानले बताए। प्रदेश पाँचमा नेपालसँगको सीमावर्ती क्षेत्रमा भारतले तीन किलोमिटरको दूरीमा एसएसबीबाट सीमाको निगरानी गर्दै आएको छ।

प्रदेश पाँचमा रहेका ६ हजार १५ जना सशस्त्र प्रहरीको जनशक्तिमध्ये बोर्डर आउट पोस्टका लागि करिब तीन हजार ६ सय जना खटाइएको छ। तीन वर्षभित्र प्रदेश पाँचमा बोर्डर आउट पोस्टको संख्या बढाएर १ सय ५० पुर्याउने तयारी छ। १ सय ५० बीओपी बन्दा भारतसँगको सीमामा ३ किलोमिटरको दूरीमा बीओपी हुनेछन्। खासगरी प्रदेश पाँचमा कपिलवस्तु, रुपन्देही, नवलपरासी र बाँकेमा सीमा अपराध, चोरीतस्करी, हातहतियार ओसारपसरा, मानववेचविखन लगायत गतिविधि बढी हुने गरेको छ।

‘भारतमा अपराध गरेर नेपाल आएर बस्ने र नेपालमा अपराध गरेर भारत गएर बस्ने प्रवृत्ति यी जिल्लाहरुमा अलि बढी छ। सबै बीओपी बनेपछि यस्ता किसिमका क्रियाकलाप रोकिनेछन्’, डीआईजी प्रधानले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .