समाज


नेपालमा सुरु भयो पूर्वी वायुको प्रभाव, मनसुन भित्रिएको हो?

नेपालमा सुरु भयो पूर्वी वायुको प्रभाव, मनसुन भित्रिएको हो?

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार ९:१, काठमाडौँ

नेपालमा मनसुन भित्रिने औसत मिति (जुन १३ तारिख) नजिकै आउँदा पूर्वी वायुको आंशिक प्रभाव सुरु भएको छ। 

मौसमविद्का अनुसार पूर्वी वायु नै मनसुनको संकेत हो। 

‘तर त्यसको स्ट्रेन्थ (शक्ति) पुगिनसकेकाले मनसुन भित्रिसकेको भन्न मिलेन’, मौसम महाशाखाका मौसमविद् विभूति पोखरेलले आज बिहान नेपालखबरसँग भनिन्, ‘यो प्रभाव फेरि भोलि नै हट्न पनि सक्छ।’

उनका अनुसार पूर्वी अर्थात् मनसुनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसुन भित्रिएको घोषणा गर्न मिल्छ। 

नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति (जुन १३ तारिख) भोलि शनिबार (जेठ ३०) हो। 

‘आजभोलि नै मनसुन प्रवेशको घोषणा गर्न सकिएन भने यसपटक मनसुन औसत मितिभन्दा ढिला हुन सक्छ’, मौसमविद् पोखरेलले भनिन्।

मौसम महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वी वायुको समेत आंशिक प्रभाव छ।

यतिबेला (शुक्रबार बिहान) लुम्बिनी प्रदेशमा आंशिक बादल तथा बाँकी प्रदेशमा साधारणतया बादल लागेको छ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो कोसी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ तथा बाँकी तराईको आकाशमा आंशिक बादल लाग्नेछ। कोसी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। यी प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना छ। कोसी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

यस्तै राति कोसी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने तराईको आकाशमा आंशिक बादल लाग्नेछ। कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। यी प्रदेशमा हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको मौसम महाशाखाले उल्लेख गरेको छ।

काठमाडौँ उपत्यकामा थप वर्षाको सम्भावना

काठमाडौँ उपत्यकामा गएरातिदेखि नै मौसम बदली र वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार अहिले पनि काठमाडौँ उपत्यकाका कतै कतै पानी पर्ने क्रम जारी छ। 

‘आज काठमाडौँ उपत्यकामा मौसम खुलिहाले पनि फेरि बदली हुने र थप वर्षा हुने सम्भावना छ’, उनले शुक्रबार बिहान नेपालखबरसँग भनिन्। 

मौसमविद् पोखरेलका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

‘विगत ३ घण्टामा काठमाडौँ उपत्यकाका धेरै ठाउँमा हल्का वर्षा भएको छ’, उनले आज बिहान ७:४५ बजेतिर भनिन्, ‘फेरि दिउँसो मध्यमसम्म वर्षा हुने सम्भावना छ।’ 

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad