ad ad

समाज


‘चिनियाँ कम्पनीको निगरानीमा भारतका प्रधानमन्त्रीसहित हजारौं भीआईपी’

‘चिनियाँ कम्पनीको निगरानीमा भारतका प्रधानमन्त्रीसहित हजारौं भीआईपी’

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ८:८,

इन्डियन एक्सप्रेसको खोजमूलक रिपोर्टअनुसार जेनहुवा डेटा इन्फर्मेसन टेक्नोलोजी नामक कम्पनीले भारतका प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरुमाथि निगरानी गरिरहेको हो।

रिपोर्टअनुसार यस कम्पनीले ३५ हजार अस्ट्रेलियन नागरिक र ५० हजार अमेरिकी नागरिकको व्यक्तिगत विवरण पनि संकलन गरेको छ।

जेनहुवा कम्पनीको चीन सरकारसँग सम्पर्क भएको साथै यस कम्पनीले चीनको सेना, सुरक्षा एजेन्सी र अनुसन्धान एजेन्सीसँग पनि काम गर्ने गरेको रिपोर्टमा उल्लेख गरिएको छ।

यस कम्पनीले भारतका नेता, वैज्ञानिक, न्यायाधिष, शिक्षाविद, पत्रकार, कलाकार, खेलाडी, धार्मिक व्यक्तित्व, अभियन्ताका साथै भ्रष्टाचार, आतंकवाद, तस्करीमा संलग्न भारतीयको पनि निगरानी गरिरहेको बताइएको छ।

रिपोर्टअनुसार इन्डियन एक्सप्रेसले उक्त कम्पनीसँग भारतीयमाथि निगरानी गरेको विषयमा प्रश्नसमेत गरेको थियो। तर उक्त कम्पनीले कुनै उत्तर नदिएको र चाइना रिभाइभल डटकम नामको एउटा वेबसाइट सेप्टेम्बर ९ मा बन्द गरेको जनाइएको छ।

हालै सार्वजनिक भएको इन्डियन एक्सप्रेसको यस रिपोर्ट अनुसार प्रधानमन्त्री मोदीसहित राष्ट्रपति राम नाथ कोविन्द, विपक्षी कँग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धी र उनीहरुका परिवार पनि उक्त कम्पनीको निगरानीमा रहेको जनाइएको छ।

साथै भारतका मुख्यमन्त्रीहरु ममता बनर्जी, अशोक गेलोत, अमरिन्दर सिंह, उद्धव ठाक्रे, नविन पतनाइक र शिवराज चौहान पनि निगरानीमा छन्।

यस्तै रक्षामन्त्री राजनाथ सिंहदेखि अन्य संघीय मन्त्रीहरु रवि शंकर प्रसाद, निर्मला सिथारमण, स्मृती इरानी र पियुस गोयल तथा चिफ अफ डिफेन्स स्टाफ विपिन राउतदेखि अन्य आर्मी तथा प्रहरीका १५ पूर्व प्रमुखहरु पनि निगरानीमा भएको बताइएको छ।

इन्डियन एक्सप्रेसका अनुसार यी तथ्यांकहरु इन्डियन एक्सप्रेस, द अस्ट्रेलिएन फाइनान्सियल रिभ्यु, इटालिज फोगलियो र द डेली टेलिग्राफलाई सोही कम्पनीका एक स्रोतले प्रदान गरेको हो।

रिपोर्टअनुसार जेनहुवाले हजारौं मानिसलाई निगरानी गर्न र उनीहरुको विवरण राख्न ठूलो फाइल बनाएको छ। जसलाई उनीहरुले ओभरसिज कि इन्फरर्मेसन डेटाबेस ओकेआइडीबी भन्ने गरेका छन्।

इन्डियन एक्सप्रेसले जेनहुवाको यस कार्यलाई हाइब्रिड वारको प्रयास भनेको छ। हाइब्रिड वार यस्तो रणनीति हो जसबाट प्रतिस्पर्धीविरुद्ध मनोवैज्ञानिक जित हासिल गर्ने प्रयास गरिन्छ।

इन्टरनेटको माध्यमबाट गलत सूचना फैल्याएर अवस्था परिवर्तन गर्नखोज्नु, प्रतिस्पर्धीलाई तल पार्न प्रोपागान्डा र हल्ला मच्चाउनु पनि हाइब्रिड वार हो। हाइब्रिड वारमा सैन्य उपकरणको प्रयोग हुँदैन।

हाल चीन र भारतबीच सीमा विवाद जारी रहँदा इन्डियन एक्सप्रेसले यस खोजमूलक रिपोर्ट सार्वजनिक गरेको हो।

पछिल्लो समय भारत र चीनबीच सिमानामा झडपका श्रृंखला बढ्दै गएका छन्। जुन १५ मा दुवै देशबीचको झडपमा २० भारतीय सेनाको ज्यान गएको थियो।

तर गतहप्ता मात्र रुसमा दुई देशका विदेशमन्त्रीबीच भएको छलफलमा भने सीमा विवाद साम्य पार्ने सहमति भएको छ।

यसैबीच इन्डियन एक्सप्रेसको रिपोर्ट सार्वजनिक भएसँगढै भारत सरकारले चिनियाँ कम्पनीले भारतीयमाथि निगरानी गरेको हो या होइन भन्ने विषयमा अनुसन्धान थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .