ad ad

कारोबार


खुल्नलागेको आन्तरिक उडानमा यात्रुले पालना गर्नुपर्नेछ यी नियम, सबै एयरपोर्टमा अनुगमन 

खुल्नलागेको आन्तरिक उडानमा यात्रुले पालना गर्नुपर्नेछ यी नियम, सबै एयरपोर्टमा अनुगमन 

वसन्त अर्याल
भदौ ३०, २०७७ मंगलबार ८:८,

सरकारले असोज ५ देखि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको छ। चाडपर्वलाई लक्षित गर्दै कोभिडको जोखिम भए पनि आन्तरिक उडान खुला गरिएको हो।

आन्तरिक उडान खुल्ला भए पनि सबैले स्वास्थ्य सुरक्षा विधि भने पालना गर्नुपर्नेछ। यात्रुहरु पहिलेजस्तै खुल्ला रुपले आउजाउ गर्न पाउनेछैनन्।

स्वास्थ्य सुरक्षा मापदण्ड नेपाल नागरिक उड्डयन प्राधिकरण, सबै विमानस्थल र सबै एयरलाइन्सले निर्माण गरेका छन्। यसमा विमानस्थलले के–के गर्ने, एयरलाइन्सले के गर्ने र यात्रुले के गर्ने, के नगर्ने भन्ने विषय समावेश छन्।

स्वास्थ्य सुरक्षा प्रोटोकलअनुसार यात्रु एयरपोर्ट जानुपहिले २-३ वटा कुरा पालना गर्नुपर्ने हुन्छ।

यसअनुसार विमानस्थलमा मास्क लगाएर आउनुपर्ने हुन्छ। एयरपोर्ट पुर्याउन र लिन जानको लागि रोक लगाइएको छ।

एयरलाइन्सहरुले ७० वर्ष उमेर कटेका वृद्ध र गर्भवती महिला, दीर्घकालीन रोग लागेका व्यक्तिलाई सकेसम्म नहिँड्न आग्रह गरेका छन्। यस्ता व्यक्तिमा कोरोना संक्रमण छिटो फैलिनसक्ने हुँदा उनीहरुलाई यात्राको लागि निरुत्साहित गर्न खोजिएको हो। तर यो प्रतिबन्ध नै भने होइन।

जहाजमार्फत यात्रा गर्नेले आफूसँग जगेडा मास्क, स्यानिटाइजर, रुमाल वा टावेल आफैँ बोकेर आउनुपर्नेछ। एयरपोर्टमा यात्रुको ज्वरो नापिन्छ। यात्रुलाई ह्यान्ड स्यानिटाइज गर्न लगाइन्छ।

त्यस्तै यात्रुले सामाजिक दूरी पनि कायम राख्नुपर्नेछ। सुरक्षित दूरी दुई मिटर भने पनि एयरपोर्टमा कम्तीमा एक मिटर दूरी कायम राख्नुपर्ने हुन्छ।

यो पनि–
आन्तरिक उडान र लामो दुरीको यातायात असोज ५ बाट सञ्चालन हुने

एयरपोर्टमा फर्म भर्नुपर्ने हुँदा यात्रुले कलम आफैँले बोक्नुपर्ने हुन्छ। एयरलाइन्सहरुले डिक्लेरेसन फर्म बनाएका छन्, त्यो भर्नुपर्छ। यात्रु कुन ठाउँमा यात्र गर्न लागेको हो, आफ्नो स्पष्ट ठेगाना खुलाउनुपर्नेछ। अर्को एयरपोर्टले बनाएको आफ्नो स्वास्थ्यसम्बन्धी फर्म भर्नुपर्नेछ।

एयरपोर्टका कर्मचारीसँग दूरी कायम राखेरै कुराकानी गर्नुपर्नेछ। ‘यति एयरलाइन्सले यात्रुलाई कर्मचारीसँग सिधा सम्पर्क हुँदा सिसाको प्रयोग गरेको छ। एयरपोर्टमा आफ्नो डकुमेन्ट देखाउँदा सिसाबाहिरबाटै देखाउने व्यवस्था मिलाएको छ’, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने, ‘यात्रु जहाज चढ्नुपूर्व फेरि ज्वरो नाप्ने व्यवस्था गरिएको छ। ह्यान्ड स्यानिटाइजर प्रयोग गर्नुपर्छ। त्रिभुवन विमानस्थलबाट विभिन्न गन्तव्यमा जाने यात्रुलाई गाडी चढ्नुपूर्व फेस भाइजर प्रयोग गर्न दिइन्छ।’

ठूला एयरपोर्टमा यात्रुले जहाजसम्म जानको लागि बसको प्रयोग गर्नुपर्छ। बसको प्रयोग गर्नुपूर्व एयरलाइन्सले फेस भाइजर प्रयोग गर्न दिनेछन्। त्यसपछि बसमा ३० देखि ५० प्रतिशत यात्रु मात्रै बोकेर जहाजसम्म पुर्याइने व्यवस्था गरिएको छ।

एयरलाइन्सहरुले प्रत्येक पटक यात्रु बोकेको बसलाई निस्संक्रमणको काम गर्नुपर्ने हुन्छ। एयरलाइन्सले जहाजमा यात्रु चढाउनुपूर्व र यात्रुको लगेज समेत निस्संक्रमणयुक्त गर्नुपर्छ। विमानस्थल तथा एयरलाइन्सहरुले यात्रुलाई सकेसम्म ब्यागेजको प्रयोग कम गर्न आग्रह गरेका छन्।

जहाजभित्र यात्रुलाई खाने, पत्रिका पढ्नेलगायतका सेवा बन्द गरिएको छ। जहाजभित्र ट्वाइलेट प्रयोग नगर्न समेत भनिएको छ। अत्यावश्यक अवस्थामा मात्रै यात्रुले ट्वाइलेट प्रयोग गर्न पाउनेछन्।

‘जहाजभित्र एयर होस्टेस फुल पीपीईसहित बसेका हुन्छन्। यात्रुलाई मध्यम खालको ह्यान्ड ब्याग लैजान रोक लगाइएको छ’, बर्तौलाले भने, ‘काखमा राख्न मिल्ने वा हातमै समाउने सानो ब्याग भने यात्रुले प्रयोग गर्न पाउनेछन्। तर क्याबिनमा राख्नुपर्ने ब्याग प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ।’

जहाजमा कुकुर, बिरालोजस्ता घलपालुवा जनावर लैजान पाइनेछैन। जहाजबाट झरिसकेपछि यात्रुले सामाजिक दूरी कायम गर्नुपर्नेछ।

‘हामीले सिट नम्बर कायम गरेका हुन्छौँ। यात्रुको बोर्डिङ सिट नम्बरअनुसार हुन्छ। एटीआर जहाजको अगाडिबाट पछाडि यात्रु राख्दै जान्छौँ’, बर्तौलाले भने।

यात्रु जहाजबाट झरेपछि ब्यागेज लिनको लागि पनि पहिलाजस्तो भीडभाड गरेर हुँदैन। सामाजिक दूरी कायम गर्दै आफ्नो ब्याग उठाउनुपर्नेछ।

सबै एयरपोर्टमा अनुगमन
प्राधिकरण, एयरपोर्ट, एयरलाइन्सले प्रोटोकल पालना भयो भएन भन्नको लागि सबै एयरपोर्टमा अनुगमन समितिको व्यवस्था गरिएको छ।

‘हरेक एयरपोर्टमा एयरलाइन्सको कर्मचारी, एयरपोर्टको पुलिस, एयरपोर्टकै कर्मचारीको अनुगमन समिति रहेको छ’, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राज कुमार क्षेत्रीले भने, ‘कसले प्रोटोकल पालना गर्यो गरेन, समितिले अनुगमन गर्छ।’

एयरपोर्टमा कर्मचारीले मास्क, फेस भाइजर, पन्जा लगाएर बस्नुपर्नेछ। क्षेत्रीले प्रोटोकल पालना मुख्यतया यात्रुले नै गर्नुपर्ने बताए।

‘यात्रा गर्दा सबैभन्दा बढी सतर्क यात्रु नै हुनुपर्छ। आफू सकेसम्म अरुको सिधा सम्पर्कमा नआउने, आफूले प्रयोग गर्ने सामग्री आफैँ लैजाने, मास्क स्यानिटाइजर प्रयोग गर्न यात्रुले छाड्नुभएन’, क्षेत्रीले भने।

पहिलेभन्दा भाडा घट्ने
एयरलाइन्सले अहिले जहाजको भाडादर एकदमै कम हुने बताएका छन्। जहाजले कमाउनेभन्दा पनि कम्पनी ‘सर्भाइभ’ गर्ने रणनीति अंगीकार गर्ने उनीहरुको भनाइ छ।

‘अहिले हामी कमाउने सोचमा छैनौँ। एयरलाइन्सलाई कसरी जोगाउने भन्ने हाम्रो रणनीति हो’, बर्तौलाले भने, ‘यात्रुले पहिलेभन्दा पनि सस्तो दरमा जहाज चढ्न पाउनुहुन्छ।’

आन्तरिक उडानमा ठूलो हिस्सा भएको बुद्ध एयरले पनि अहिले भाडा घट्ने बताइसकेको छ। बुद्ध एयरले बुकिङ समेत खुल्ला गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .