भल्कोट खोलाले बगाउँदा बागलुङको निसीखोलामा एक बालिका बेपत्ता भएकी छन्।
निसीखोला गाउँपालिका–६ का ‘रासे’ भनिने राजीव बुढाकी सात वर्षीया छोरी सञ्जिला बुढामगर मंगलबार साँझदेखि बेपत्ता भएकी हुन्।
घरदेखि २० मिटरको दूरीमा रहेको खोलामा साँझ ५ बजे निस्किएकी बालिकालाई एक्कासी बढेको खोलाको बहावले हुत्याएको इलाका प्रहरी चौकी निसीका प्रहरी नायब निरीक्षक लालमणि भट्टराईले जानकारी दिए।
घटनाबारे प्रहरीलाई बुधबार बिहान ९ बजे मात्र जानकारी प्राप्त भएको थियो। स्थानीयले खबर गरेपछि प्रहरी, स्थानीयवासी मिलेर बालिकाको खोजी कार्य जारी राखेको प्रहरी नायब निरीक्षक भट्टराईको भनाइ छ।
बाबुआमा गोठमा काम गरिरहेको अवस्थामा बालिका खोला किनारमा खेलेको र सोही समयमा ठूलो पानी परेको हुँदा खोलाले बगाएको हुनसक्ने अनुमान गरिएको छ। रासस
प्रतिक्रिया