देशभर कोरोना भाइरसको आतंक फैलिरहेका बेला दोलखाको मेलुङमा भने रेबिजको त्रास फैलिएकाे छ।
डेढ महिनाअघि कुकुरले टोकेका १० मध्ये एकपछि अर्काे गरेर ३ जनाको मृत्यु भएपछि मेलुङ गाउँपालिकाभर अहिले रेबिजको आतंक फैलिएको हो।
गाउँपालिकाका प्रवक्ता हिरा ठोकरका अनुसार रेबिजका कारण मेलुङ गाउँपालिका वडा नम्बर ५ मा एक बालक र वडा नम्बर ६ मा दुई जनाको मृत्यु भएको हो।
उनका अनुसार वडा नम्बर ६ का ३२ वर्षीय रामचन्द्र भण्डारी, १५ वर्षीय कुशल नेपाली र दोलखाकै बैतेश्वर वडा नम्बर ६ घर भई मेलुङ गाउँपालिकाको वडा नम्बर ५ स्थित मामा घरमा आएका ८ वर्षीय सुरज विकको मृत्यु भएको हो।
‘पछिल्लोपटक रामचन्द्र भण्डारीको हिजो (शनिबार) पाटन अस्पताल (ललितपुर) मा मृत्यु भएको हो भने साउन २३ गते कुशल नेपालीको तथा भदो २ गते सुरज विकको मृत्यु भएको हो,’ उनले भने।
गम्भीर बिरामी भएपछि भण्डारीलाई पाटन अस्पताल ल्याइएकाे थियाे भने नेपाली र विककाे मृत्यु जिल्लाकै स्वाथ्य संस्थामा भएको हाे।
‘चिकित्सकले उनीहरूको मृत्यु रेबिजकै कारण भएको पुष्टि गरेका छन्,’ प्रवक्ता ठोकरले भने।
गत असार २६ गते एउटै कुकुरलाई उनीहरूसहित १० जनालाई टोकेको थियो। त्यसपछि उनीहरू सबैले गाउँमै रहेको स्थानीय मेडिकलमा गएर रेबिजको सुई लगाएका थिए।
‘तर तीमध्ये तीन जना (माथि उल्लिखित) को मृत्यु भयो,’ मेलुङ गाउँपालिकाका प्रवक्ता ठोकरले आइतबार बिहान नेपालखबरसँग भने, ‘सायद त्यो भ्याक्सिनलाई उचित तापक्रममा राख्नुपर्ने रहेछ, त्यो मिलनेछ क्यारे, अनि काम गरेन।’
त्यहाँ रेबिजको खोप १० जनाले नै लगाएका थिए। तीमध्ये तीन जनाको मृत्यु भएको हो। अन्य ७ जनाको अवस्था भने समान्य रहेको उनले जानकारी दिए।
यसैबीच त्यसरी काम नगर्ने रेबिज सुई लगाउने मेडिकल सञ्चालक कृष्णकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई अहिले दाेलखा जिल्ला प्रहरी कार्यालमा राखेर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेकाे मेलुङ गाउँपालिकाका प्रवक्ता ठाेकरले जानकारी दिए।
५१ जनालाई रेबिज सुई दिइयो
घटनापछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट चिकित्सक टोली मगाएर बाँचेका ती ७ जनासहित कुकुरे टाेकेका १० जनाकाे सम्पर्कमा आएकासमेत गरेर ५१ जनालाई रेबिज सुई लगाइएको गाउँपालिका प्रवक्ता ठोकरले जानकारी दिए।
‘अहिले उनीहरूको अवस्था सामान्य भइसकेको छ,’ उनले भने, ‘टेकुकको चिकित्सकले भनेअनुसार अब उनीहरूको जीवन सुरक्षित छ।’
जम्मा तीन डाेज दिनुपर्ने भएकाले अब भदाै १५ र १९ गते बाँकी डाेज दिन चिकित्सक आउने उनले बताए।
यसरी कुकुरको टोकाइबाट तीन-तीन जनाको मृत्यु भएपछि अहिले मेलुङमा आतंक फैलिएको छ। कुकुर देख्यो कि मानिस तर्सिने भएका छन्।
‘यो मनोवैज्ञानिक त्रास हटाउन अभियान सञ्चालन गरिरहेका छौं,’ प्रवक्ता ठोकरले भने, ‘हिजोबाट गाउँपालिकाभरिका कुकुरलाई पनि रेबिजविरुद्धको भ्याक्सिन लगाउन थालेका छौं।’

प्रतिक्रिया