कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएको घटनाको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले अनुसन्धान सुरु गरेको छ।
निर्देशनालयको टोली अनुसन्धानका लागि शनिबार महाकाली नगरपालिका पुगेको छ। टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना सङ्कलन गरी जाँचका लागि काठमाडौँस्थित प्रयोगशाला पठाएको छ।
दुई साताको अवधिमै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि टोली सङ्क्रामक रोगबारे अनुसन्धान गर्न महाकाली पुगेको हो।
जापानीज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको आशङ्कामा १० जनाको रगतको नमूना सङ्कलन गरी जाँचका लागि पठाइएको निर्देशनालयका भेक्टर कन्ट्रोलर हेमराज जोशीले जानकारी दिए।
‘महामारीको सङ्केत छैन। रगतको नमूना जाँचपछि रोगबारे जानकारी हुनसक्छ,’ उनले भने। उच्च ज्वरो आएका तीन बिरामीको दोधारा प्राथमिक स्वास्थ्य केन्द्र र दुईको घरमै उपचार भइरहेको छ। स्वास्थ्य केन्द्रका डा. गगन चौधरीका अनुसार उच्च ज्वरोसँगै मौसमी ज्वरोका बिरामीको चाप बढेको छ।
निर्देशनालयको टोलीमा निर्देशनालयका भेक्टर कन्ट्रोलर जोशी, स्वास्थ्य कार्यालय कञ्चनपुरका सिद्धराज जोशी र दुई जना दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी संलग्न छन्। रासस

प्रतिक्रिया