कोभिड– १९ का संक्रमित बढ्न थालेपछि पोखरा महानगरको आग्रहमा यहाँका दुई होेटल ‘पे–आइसोलेसन’ सञ्चालन गर्न तयार भएका छन्।
महानगरद्वारा जारी तीनदिने सूचनाको आधारमा यहाँस्थित रोयल पाम होटल र होटल स्टेले आइसोलेसन सेन्टर बनाउन आवेदन दिएको महानगरका सूचना अधिकारी भरत पौडेलले जानकारी दिए। यहाँ संक्रमितको संख्या बढ्न थालेपछि होटललाई पनि पे–आइसोलेसनको रुपमा प्रयोगका लागि आह्वान गरिएको महानगर प्रमुख मानबहादुर जिसीले बताए। उनले भने, ‘कोभड –१९ को जोखिम बढिरहेको छ।’
महानगरले कृषि तालिम केन्द्र मालेपाटनमा ४० शय्याको आइसोलेसन तयार गरेको छ। यो मात्र पर्याप्त हुँदैन यसैले पे–आइसोलेसनका लागि होटलहरुलाई आह्वान गरेको उनले जानकारी दिए। उनले पहिलो चरणमा दुई होटल इच्छुक देखिएको तथा उनीहरुले उपलब्ध गराउने सेवा सुविधा शुल्कको बारेमा छफफल भइरहेको जानकारी दिए।
यसअघि महानगरको सहकार्यमा ‘पे क्वारेन्टिन’ सञ्चालन गरिएको थियो। ती क्वारेन्टिनबाट करिब चार सय जनाले सुविधा लिएको बताइएको छ। ‘पे क्वारेन्टिन’मा बस्नेहरुका लागि एक दिनको एक हजारदेखि दुई हजारसम्म मूल्य तोकिएको छ। महानगरले विदेशबाट आएर स्वेच्छाले आफ्नै खर्चमा सुविधासम्पन्न होटलमा बस्न चाहानेका लागि यो सुविधा उपलब्ध गराएको जनाएको छ।
महानगरको सूचनाको आधारमा आइसोलेसन सेन्टरको रुपमा होटल सञ्चालनको लागि इच्छुक देखिएको पोख– १४ चाउथेस्थित होटल रोयल पामका व्यवस्थापक राज श्रेष्ठले बताए। उनले भने, ‘गतचैत पहिलो साताबाट होटल बन्द छ, कोरोनाको जोखिम बढिरहेको छ। यो अहिलेको कठिन अवस्थामा स्वास्थ्य सतर्कताका सम्पूर्ण मापदण्ड पूरा गरेर होटल आइसोलेसनका सेन्टरको रुपमा दिएर सामाजिक उत्तरदायित्व निर्वाह गर्नु हाम्रो पनि दायित्व हो।’
होटलमा ३० कोठामा ६० शय्या रहेको र ३५ कर्मचारी कार्यरत रहेका छन्। आइसोलेसनको रुपमा दिने सेवा सुविधा र शुल्कको बारेमा महानगरसँग समन्वय गरेर अघि बढ्ने उनले जानकारी दिए।
पोखरा–१७ ड्यामसाइड स्थित होटल स्टेमा सञ्चालक लिलाबल्लभ पोखरेलले २३ कोठालाई आइशोलेशनको रुपमा दिन तयार भएको बताए। ‘कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण निकै नकारात्मक छ, सुरक्षा विधि अपनाएर अब जनजीवनलाई सामान्य बनाउनु पर्छ, संक्रमितप्रति सकारात्मक दृष्टिकोणको सन्देश दिन पनि होटललाई आइसोलेसन सेन्टरको रुपमा दिन तयार भएको हुँ’, उनले भने। उनले सबैले आ–आफ्नो क्षेत्रबाट उत्तरदायित्व बहन गर्दै जान सकिएमा महामारी जित्न सकिने र स्थिति सामान्य हुँदै जाने विश्वास व्यक्त गरे।
्
पोखरा –६ स्थित होटल कुटीका सञ्चालक देवेन्द्र केसीले अहिले क्वारेन्टिनको रुपमा होटल सञ्चालन भएको र आवश्यक परे आउने दिनमा आइसोलेसनको लागि होटल दिएर राज्यलाई सहयोग गर्न तयार रहेको जानकारी दिए।
पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले पोखरा महानगरपालिकाको आइसोलेसनका लागि आह्वान गरेपनि यहाँका अधिकांश होटल बन्द हुनुका साथै पर्याप्त पार्किङ लगायतका मापदण्ड भित्र नपरेकाले आवेदन नदिएको बताए। उनले पोखरामा सात सय होटल रहेको र हाल क्वारेन्टिनमा सूचिकृत भएका २४ मध्ये ८ होटल मात्र सञ्चालनमा आएको जानकारी दिए। रासस
Shares

प्रतिक्रिया