समाज


कालीमाटी तरकारी बजारमा बढ्दो जोखिम

कालीमाटी तरकारी बजारमा बढ्दो जोखिम

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार १०:१,

कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना संक्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ। व्यापारी र क्रेताले सामान्यतया दूरी कायम र मास्कसम्म पनि नलगाएको पाएपछि कोरोना भाइरसको जोखिम थप बढेको हो। यसअघि नै कालीमाटीका तरकारी व्यापारीमा कोरोना भाइरस देखिसकेको अवस्था भए पनि सावधानी भने छैन।

काठमाडौँ महानगरको कृषि विभागको अगुवाइमा आज बिहान अनुगमन टोली त्यहाँ पुग्दा अवस्था सामान्य बेला जस्तै थियो। हरेक दिन काठमाडौँ उपत्यका र अझै बढी काठमाडौँ जिल्लामा भाइरसका बिरामी बढ्दोरुपमा थपिने क्रम जारी छ। दैनिक औसतमा ५०० मेट्रिकटन तरकारी तथा फलफूल बिक्री हुने यस बजारमा ४५२ वटा थोक, ६५ वटा खुद्रा र २७ वटा माछा पसल छन्।

आफ्नो नजिकको बजारभन्दा तरकारी र फलफूल सस्तो पाइने भनेर उपभोक्ता कालीमाटी जान थालेपछि कालीमाटी तरकारी तथा फलफूल बजार भीड बढेको अनुगमन टोलीको निष्कर्ष छ। कोभिड महामारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि आयात घटेर मूल्य बढेको भन्दै महानगरमा गुनासो आएपछि कामपाले अनुगमन शुरु गरेको हो। अनुगमनका क्रममा थोक बजारभित्रका स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए÷नभएको अवलोकन गरिएको थियो। त्यस्तै ढक तराजुको अवस्था, खरिद बिक्री बिल, मूल्यसूची, परिचय पत्रलगायत सूचकका आधारमा अनुगमन गरिएको थियो।

कामपा कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले महामारीका समयमा पनि व्यापारी र उपभोक्तामा कत्ति सावधानी नदेखिएको भन्दै सचेत हुन आग्रह गरे। उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले खरीदबिक्री बिललाई अनिवार्य गर्ने, त्यसका आधारमा मूल्यसूची टाँस्ने तथा मूल्यसूचीका आधारमा उपभोक्ताले खरिद गर्ने बानीको विकास गर्नुपर्ने बताउँछन्।

कालीमाटी बजार विकास समितिले यही भदौ ७ गते दुईपाङ्ग्रे सवारीसाधनलाई बजार प्रवेशमा रोक लगाउने, किसान बजार बन्द गर्ने, बजारमा कार्यरत भरिया र मजदूरलाई समूहमा बस्न निरुत्साहन गर्नेलगायत ११ बुँदे सूचना जारी गरेको थियो। सो सूचनाको पालनामा पनि समस्या देखिएको छ। सूचनामा इजाजत प्राप्त व्यवसायीले दुई जनाभन्दा बढी बस्न नपाइने, बजार प्रवेश गरेपछि साबुनपानीले हात धुनुपर्ने, मास्कको प्रयोग गर्नुपर्ने, कृषिउपज लिएर आउने सवारी साधनले बिहान ९ देखि राति ११ बजेसम्म मात्र प्रवेश गर्न पाउने, सामान जुन अवस्थामा आएको छ, त्यही अवस्थामा बिक्री गर्नेलगायत विषय उल्लेख गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad