पाँचथरमा निर्माणाधीन मन्दिरको छत खसेर किच्दा दुई जनाको ज्यान गएको छ।
जिल्लाको हिलिहाङ गाउँपालिका-७, भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छत सोमबार बिहान ९ बजेतिर खसेको हो।
उक्त छतले किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको चेपिएर मृत्यु भएको स्थानीय अर्जुन रिजालले जानकारी दिएका छन्।
अहिले प्रहरी टोलीले स्थानीयको सहयोगमा शव बाहिर निकाल्ने प्रयत्न गरिरहेको छ।
पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार ढलान गरिएको छत राम्रोसँग नअडिएका कारण सटिङ खुस्काउने क्रममा पूरै छत खसेर किच्दा उनीहरुको मृत्यु भएको हो।
उक्त स्थानमा निर्माण गर्न लागिएको यलम्बर पार्कमा निर्माणाधीन मन्दिरको छत २० दिनअघि नै ढलान गरिएको भए पनि राम्रोसँग नअडिएको पाइएको उनकाे भनाइ छ।

प्रतिक्रिया