समाज


विश्वको तुलनामा नेपालमा कोरोना निको हुने दर १० प्रतिशत कम

विश्वको तुलनामा नेपालमा कोरोना निको हुने दर १० प्रतिशत कम

नेपालखबर
भदौ ८, २०७७ सोमबार १२:४२,

नेपाल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ। विश्वको तुलनामा नेपालमा संक्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम रहेको छ। अहिले नेपालमा निको हुने दर ५८.३ प्रतिशत रहेको छ भने विश्वमा ६८.१ प्रतिशत रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर ९.८ प्रतिशतले कम रहेको छ। तथ्यांक भन्दाबढी नै निको भएको सरकारी अधिकारी बताउँछन्। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तथ्यांकअनुसार नेपालमा विश्वको तुलनामा संक्रमण हुने दर कम भए पनि वास्तविक त्यसो नभएको बताउछन्। उनले पछिल्लो समय रिपोर्टिङ गर्ने कम भइरहेकाले निको हुने दर तथ्यांकमा कम देखिएको बताए।

‘हामीले सबै ठाउँबाट तथ्यांक संकलन गर्न सकेका छैनौ’, उनले भने, ‘संक्रमित दैनिक निको हुनेको संख्या बढी भए पनि संकलनमा समस्या भएकाले निको हुनेको कम तथ्यांक आएको हो।’ उनले सबै ठाउँबाट तथ्यांक आइसकेपछि निको हुने दर बढी देखिने बताए।

विश्वमा अहिले दुई करोड ३४ लाख ९ सय जना संक्रमित भएका छन् भने एक करोड ५९ लाख ३५ हजार ४७३ जना निको भएर घर फर्किसकेका छन्। जुन निको हुनेको संख्या ६८.१ प्रतिशत हो। विश्वमा अहिलेसम्म आठ लाख नौ हजार ९८६ जनाको कोभिड–१९ संक्रमणबाट मृत्यु भइसकेको छ। जुन मृत्युदर ३.५ प्रतिशत हो।

नेपालमा ६ लाख ४४४ जनामा पीसीआर परीक्षण गर्दा ३१ हजार ९३५ जनामा संक्रमण देखिएको छ। सोमध्ये १८ हजार ६३१ जना संक्रमणमुक्त भइ घर फर्किसकेका छन्। जुन ५८.३ प्रतिशत हो। नेपालमा अहिलेसम्म १४९ जनाको संक्रमणबाट ज्यान गइसकेको छ। ११ हजार ४१४ जना क्वारेन्टिन र १३ हजार १५५ जना आइसोलेसनमा रहेका छन्।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले सवै तथ्यांक संकलन गर्न नसकेकाले निको हुने दरको संख्यामा कमी देखिएको बताए। ‘हामीले सबै संक्रमितलाई अस्पतालमा भर्ना गरेका छैनौँ, कति होम आइसोलेसना पनि बसेर निको भएका छन्, कतिको निको भएपछि पनि पिसिआर परीक्षण भएको छैनन’, उनले भने, ‘सबैको तथ्यांक हामीसँग आउदैन, त्यसैले तथ्यांकमा निको हुनेको संख्या कमी देखिएको हो, धेरै नै निको भएका छन्, तर वास्तविक त्यस्तो होइन।’ उनका अनुसार करिव ८० देखि ९० प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन्।

सरकारले गत चैत ११ गतेदेखि जारी गरेको बन्दाबन्दी (लकडाउन) साउन ७ गतेदेखि खुला गरेको थियो। पुनः संक्रमित बढ्दै गएपछि अहिले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। काठमाडौँ उपत्यकामा यही भदौ ४ गतदेखि १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ। चैत ११ गतेदेखि स्कुल, कलेज, सार्वजनिक यातायात, सभा, गोष्ठी, जात्राजस्ता बढी भिडभाड हुने कार्य गर्न रोक लगाइएको छ।

आइतबार २८१ जना संक्रमण जितेर घर गएका छन्। आजभन्दा ठिक एक महिना पहिला गत साउन ७ गते संक्रमणमुक्त भएर जाने ७०.१ प्रतिशत रहेको थियो। एक महिनाको बीचमा निको हुने दर पनि ११.२ प्रतिशतले कमि आएको छ। यही भदौ ६ गते १३६ जना निको भएर घर जाँदा निको प्रतिशत ५८.९ प्रतिशत, भदौ ५ गते २५० जना निको भएर घर जाँदा निको प्रतिशत ५९.८ प्रतिशत रहेको थियो।

यस्तै यही भदौ ३ गते १२० जना निको भएर घर जाँदा ६१.२ प्रतिशत, भदौ २ गते ८५ जना निको भएर घर जाँदा ६२.२ प्रतिशत र भदौ १ गते १६० जना निको भएर घर जाँदा ६४.२ प्रतिशत रहेको थियो। यसरी प्रतिदिन निको हुने दर पनि कमी आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad