कारोबार


गत आवमा नेपालको व्यापारघाटा १० खर्बको, चीनतर्फको निर्यात ४३.५ प्रतिशतले घट्यो

गत आवमा नेपालको व्यापारघाटा १० खर्बको, चीनतर्फको निर्यात ४३.५ प्रतिशतले घट्यो

नेपालखबर
भदौ ८, २०७७ सोमबार १२:५९,

नेपालको एक वर्षको व्यापार घाटा १० खर्ब ९ अर्ब ९ करोड रुपैयाँबराबरको देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ९७ अर्ब ७१ कराड रुपैयाँ वस्तु निर्यात गर्दा आयात भने ११ खर्ब ९६ अर्ब ८० करोड रुपैयाँ बराबरको भएको हो।

कुल वस्तु निर्यात ०.६ प्रतिशतले वृद्धि भई ९७ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो निर्यात १९.४ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारततर्फ ११.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ४३.५ प्रतिशत र १८.२ प्रतिशतले घटेको छ।

वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, जडीबुटी, प्लाष्टिकका भाँडा, फलफूललगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा धागो, तयारी पोशाक, उनी गलैँचालगायतका वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०७६÷०७७ मा कुल वस्तु आयात १५.६ प्रतिशतले घटेर ११ खर्ब ९६ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यस्तो आयात १३.९ प्रतिशतले बढेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९.९ प्रतिशत, ११.५ प्रतिशत र ५.३ प्रतिशतले घटेको छ।

वस्तुगत आधारमा कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, रासायनिक मल, खाने तेल, कम्प्युटर तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एमएस बिलेट, सुन, अन्य मेसिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात घटेको छ।

निर्याततर्फ वीरगञ्ज र तातोपानी भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ। आयाततर्फ सुख्खा बन्दरगाह र तातोपानी भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ। आर्थिक वर्ष २०७६/०७७ मा कुल वस्तु व्यापारघाटा १६.८ प्रतिशतले संकुचन भई १० खर्ब ९९ अर्ब ९ करोड रुपैयाँ कायम भएको छ।

अघिल्लो वर्ष यस्तो घाटा १३.५ प्रतिशतले वृद्धि भएको थियो। व्यापारघाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९.२ प्रतिशत रहेको छ। समीक्षा वर्षमा निर्यात–आयात अनुपात ८.२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ६.८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad