ad ad

समाज


लकडाउन हटाएको एक महिनाभित्र कहालीलाग्दो गरी बढ्यो कोरोनाबाट संक्रमण र मृत्यु (तथ्यांकसहित)

लकडाउन हटाएको एक महिनाभित्र कहालीलाग्दो गरी बढ्यो कोरोनाबाट संक्रमण र मृत्यु (तथ्यांकसहित)

नेपालखबर
भदौ ८, २०७७ सोमबार ०:५८,

देशव्यापी लकडाउन (बन्दाबन्दी) हटाइएको एक महिनामा कोरोना संक्रमण निकै उच्च गतिमा फैलिएको पाइएको छ। मृत्युदर र सङ्क्रमण दर जुन गतिमा बढिरहेको छ, त्यसको तुलनामा निको हुने दर भने निकै न्यून छ।

एक महिनाअघि निको हुने दर कूल सङ्क्रमितको ६९ दशमलव ३४ प्रतिशत थियो। एक महिनापछि घटेर यो दर ५९ प्रतिशतमा झरेको छ ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णयअनुसार साउन ६ गते रातिदेखि लकडाउन हटेको घोषणा गरेका थिए। त्यसको आइतबार एक महिना पूरा भएको छ।

यही अवधिमा कोरोना सङ्क्रमण र मृत्यु दर अकल्पनीय ढंगले अहिलेसम्मकै उच्च भएको छ । स्थिति जटिलतातर्फ गइरहेकाले नागरिकले उच्च सावधानी अपनाउनु जरुरी रहेको जनस्वास्थ्य विज्ञले बताएका छन्।

विश्वमा सुरुमा सन् २०१९ डिसेम्बर ३१ मा चीनको उहानमा देखापरेको कोरोना भाइरस नेपालमा २०७६ माघ ९ गते त्यहीँबाट आएका एक नेपालीमा देखा परेको थियो। त्यसपछि चैत १० गते तेस्रो मुलुकबाट आएका अर्का नेपालीमा देखिएको थियो।

त्यसपछि सङ्क्रमण फैलिन नदिन सरकारले चैत ११ देखि देशभर लकडाउन लागू गरेको थियो। क्रमशः सङ्क्रमण दर बढ्दै वैशाख अन्तिम सातादेखि ३ अङ्कमा देखिन थालेको थियो।

असारमा संक्रमण केही कम हुन थालेपछि सरकारले ४ महिना लामो लकडाउन साउन ६ गतेबाट हटाएको थियो । योसँगै गतिविधि चलायमान हुँदा मुलुकका सबै जिल्लामा मानिस बिनासावधानी घुलमिल भए। त्यसैको परिणाम अहिले देखिन थालेको छ।

अहिले एकैदिन ११ जनासम्मको मृत्यु हुन थालेको छ भने हजारभन्दा बढी संख्यामा सङ्क्रमित थपिन थालेका छन्।
एक महिनाको कोभिड-१९ सङ्क्रमण विश्लेषण :
शीर्षक                                                 साउन ६ गते                             भदौ ६ गते 
कूल सङ्क्रमित                                       १७ हजार ९९४                          ३१ हजार ११७

सक्रिय सङ्क्रमित                                    ५ हजार ४७७                           १२ हजार ६२९

एक दिनमा नयाँ सङ्क्रमित                       १५०                                         ६३४

निको                                                      १२ हजार ५१७                          १८ हजार ३५०

एक दिनमा मृत्यु                                       २                                               ९

प्राप्त तथ्याङ्क विश्लेषण गर्दा साउनअघि भएको कूल मुत्युभन्दा पछिल्लो एक महिनामै ३ गुणा बढीले मानिसको मृत्यु भएको छ। साउन ६ गतेसम्म कोभिड–१९ सङ्क्रमित ४२ जनाको मृत्यु भएको थियो । साउन ६ देखि भदौ ६ सम्म एक महिनामा मात्रै १०४ जनाले ज्यान गुमाएका छन्।

शनिबारसम्म सङ्क्रमितमध्ये १४६ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही महिनामा सङ्क्रमण दर पनि उच्च भएको छ।

अन्य महिनाको कूल सङ्क्रमितभन्दा एकै महिनामा दोब्बरले सङ्क्रमित थपिएका छन् । त्यसदिन कूल १७ हजार ९९४ सङ्क्रमित रहेकामा मन्त्रालयले एक महिनापछि सोही दिन अर्थात् भदौ ६ गते सार्वजनिक गरेको विवरणमा कूल सङ्क्रमित १३ हजार १२६ थपिएर ३१ हजार ११७ जना पुगेका छन्।

साउन ६ कुल १५० नयाँ सङ्क्रमित भेटिएका थिए भने भदौ ६ गते नयाँ सङ्क्रमित ६३४ जना भेटिए। त्यसबेला काठमाडौँ उपत्यकामा नगण्य सङ्क्रमित रहेकामा अहिले दैनिक १५० देखि २०० को हाराहारीमा नयाँ बिरामी भेटिँदै आएका छन् । त्यसमा पनि ८० देखि ९० प्रतिशत काठमाडौँ जिल्लाका छन्।

अघिल्लो महिना साउन ६ गते सक्रिय सङ्क्रमित ५ हजार ४७७ रहेकामा एक महिनापछि सोही दिन सक्रिय सङ्क्रमित १२ हजार ६२९ रहेको विवरणमा उल्लेख छ।

प्राप्त विवरणले बन्दाबन्दी हटाइएपछिको सङ्क्रमणले नसोचेको गति लिँदैछ। बन्दाबन्दी हटाइएपछि मानिसले कोभिड–१९ सर्न सक्छ भन्ने ख्यालै नगरी लापर्बाही गर्दा जोखिम उच्च रूपमा बढिरहेको विपद् जोखिम व्यवस्थापनविज्ञ कृष्ण देवकोटा बताउँछन्।

उनले नागरिक आफैँले उच्च सावधानी अपनाउनुपर्ने र स्वास्थ्य मापदण्डलाई पूर्ण कार्यान्वयन नगर्ने हो भने स्थिति भयावह हुने चेतावनी दिए।

बन्द खुल्यो भनेपछि सबै क्षेत्र चलायमान भयो । सीमा क्षेत्रमा अलि बढी सङ्क्रमण थियो । त्यहाँका मानिस हरेक क्षेत्रमा खुला रूपमा पुगे र भारतबाट आएका मानिससमेत जिल्ला जिल्लामा भित्रिए । जसका कारण सङ्क्रमण बढ्दै गएको देवकोटा बताउँछन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतम यो समय सकेसम्म घरबाटै ननिस्कने र अत्यावश्यक कामका लागि निस्किन परे पनि भीडभाडमा नजाने, मास्क लगाउने, साबुनपानीले राम्ररी हात धुने र दुई मिटरभन्दा बढीको भौतिक दूरी कायम गर्ने गर्दा सङ्क्रमणबाट जोगिन सक्ने बताउँछन्।

मुलुकभर नै सङ्क्रमण बढ्न थालेपछि अहिले जिल्ला जिल्लामा निषेध आदेश जारी गरिएको छ।

अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको छ। जसका कारण आधा मुलुक नै ठप्प हुन पुगेको छ।

सरकारले निषेध आदेश जारी गरे पनि सर्वसाधरणले स्वास्थ्य मापदण्ड ख्याल नगर्ने हो भने स्थिति जटिल हुनेतर्फ स्वास्थ्यकर्मीले सचेत गराएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .