समाज


अछाममा बाढीले बगाउँदा तीन जनाको मृत्यु, १९ जना बेपत्ता

अछाममा बाढीले बगाउँदा तीन जनाको मृत्यु, १९ जना बेपत्ता

नेपालखबर
भदौ ३, २०७७ बुधबार ३:५७,

अछामको रामारोशन गाउँपालिका– ५ का विभिन्न बस्तीमा गएराति बाढी पस्दा कम्तिमा पनि तीन जनाको मृत्यु भएको छ। १९ जनालाई बाढीले बगाएर बेपत्ता बनाएको छ।

स्थानीय कैलाश खोलामा गएराति आएको  बाढी बस्तीमा पसेको हो। बेपत्तामध्ये अहिलेसम्म तीनवटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी इन्सपेक्टर रमेश अवस्थीले जानकारी दिए।

‘स्थानीय कैलाश खोलाको बाढीले ठूलो जनधनको क्षति भएको छ,’ इन्सपेक्टर अवस्थीले बुधबार बिहान नेपालखबरसँग भने, ‘१९ जना स्थानीय बाढीमा बेपत्ता हुनु भएको खबर आएको छ। डेढ दर्जन भन्दा धेरै घर र पसलहरु पनि बाढीले बगाएको छ। अहिलेसम्म तीन जनाको शव फेला परेको छ।’

उनले फेला परेको शवको सनाखत हुन बाँकी रहेको जानकारी दिए।

बाढीले सैनीबजार, गजडबजार र मुजा बगरमा क्षति गरेको उनले बताए। बाढीले दर्नामा रहेको एउटा पक्की पुलसमेत बगाएको छ।

आफू पनि पैदलै घटनास्थलतिर जाँदै गरेका उनले भने, ‘घटनास्थलमा भर्खरै थोरै संख्या प्रहरी पुगेका छन्, सडक र पुल सबै बाढीले बगाएकाले घटनास्थलमा पुग्नै समस्या छ।’ क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए।

घटनास्थल तर्फ जाँदै गरेकी रामारोशन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती साउदले भने अहिलेसम्म ५/६ जनाको शव फेला परेको जानकारी दिइन्। ‘मलाई घटनास्थलमा पुग्न अझै समय लाग्छ,’ उनले भनिन्, ‘अध्यक्ष झंकबहादुर साउदसहितको टोली बेपत्ताको खोजीमा परिचालन भइसकेको छ।’

घटनास्थलमा उद्धारका लागि प्रदेश सरकारले हेलिकप्टर पठाउने तयारी गरेको उपाध्यक्ष साउदले बताइन्। ‘मुख्यमन्त्री त्रिचोचन भट्टसँग कुरा भएको छ। उहाँले तत्कालै हेलिकप्टर पठाउने जानकारी गराउनु भएको छ,’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad