पोखरामा गए राति भएको सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ भने प्रहरी हवल्दार गम्भरिु घाइते भएका छन्।
वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग १ ब ३६९ नम्बरको मोटरसाइकलाई गएराति १ बजेको समयमा प्रस्याङबाट मालेपाटन आउँदै गर्दा सोही दिशाबाट आइरहेका ग २ च २६२६ नम्बरको बोलेरो जिपले प्रस्याङ विश्वास पेट्रोलपम्प नजिक ठक्कर दिँदा दुर्घटना भएको हो।
ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएको थियो। मोटरसाइकल चालक प्रहरी जवान पाल्पा घर भएका २० वर्षीय चन्द्रबहादुर बगालेको उपचारका क्रममा राति १ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।
घाइते प्रहरी हवल्दार बर्दिया मैनापुर–२ घर भएका ३४ वर्षीय डम्बरबहादुर थारूको सोही अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ। रासस

प्रतिक्रिया