समाज


आजदेखि महोत्तरीमा १० दिनसम्म निषेधाज्ञा

 आजदेखि महोत्तरीमा १० दिनसम्म निषेधाज्ञा

नेपालखबर
भदौ २, २०७७ मंगलबार १:३५,

कोभिड-१९ को संक्रमण बढ्दै गएपछि महोत्तरीमा १० दिनसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरि १० दिनको लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको हो।

यसअघि जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाको मुख्य बजारक्षेत्र र महोत्तरी गाउँपालिकाका वडा नम्बर ३ र ५ मा मात्र गत साउन २१ गतेदेखि पटकपटक गरी निषेधाज्ञा जारी गर्दै आएको थियो।

पछिल्ला केही दिनयता जिल्लाका सबैजसो भेगमा सङ्क्रमण निकै बढेको हुँदा यसलाई रोकथामका लागि आवागमन रोक्न जिल्लाभरि नै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समितिको बैठकको निर्णयानुसार जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो।

अत्यावश्यक काम र निर्माण कार्यलाई अवरोध नपुग्ने गरी भदौ १० गते मध्यरातसम्म जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले जारी गरेको सूचनामा उल्लेख छ।

यसक्रममा हिँडडुल, सवारीसाधन, हाटबजार र मेलाजात्रा सबै बन्द गरिएको स्थानीय प्रशासनले जनाएको छ। औषधि पसल र अस्पतालबाहेक अन्य सबै पसल बन्द रहनेछन्। निषेधाज्ञाको उल्लंघन गर्नेलाई तत्काल कारवाही गरिने प्रजिअ कटुवालले बताए।

यसअघि स्थानीय प्रशासनले सीमित क्षेत्रमा निषेधाज्ञा जारी गरेको भए पनि जिल्लाका स्थानीय तह र उद्योग वाणिज्य संघको समन्वयमा बर्दिवास, भङ्गाहा, गौशाला, औरही, लोहारपट्टी र बलवासहितका नगरपालिका क्षेत्रमा साप्ताहिक हाटबजार साउन २१ यता बन्द हुँदै आएका थिए।

साप्ताहिक हाटबजार बन्द प्रभावकारी नभएपछि जिल्लाभरि नै निषेधाज्ञा लागू गर्न स्थानीय प्रशासनलाई दबाब बढेको थियो।

महोत्तरीमा कोभिड–१९ सङ्क्रमणबाट हालसम्म दुई जनाको मृत्यु भइसकेको छ। जिल्लामा सोमबार साँझसम्म एक हजार ८८ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।

यसमध्ये १२ जनामा सोमबार सङ्क्रमण पुष्टि भएको कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्तिसमेत रहेका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी दिए। जिल्लाका सङ्क्रमितमध्ये तीन सय ७० जना उपचारपछि निको भएर घर फर्केका कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad