विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण दर नेपालमा बढ्दो छ। बिहीबारसम्म ९५ जनाले ज्यान गुमाएका छन। सुदूरपश्चिमको कैलाली जिल्लामा कोरोनाबाट मात्रै ४ जनाको मृत्यु भएको छ। तर त्यहाँ कोरोनाभन्दा यो अवधिमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या ६ गुणाले बढी छ।
सरकारले गत चैत ११ यता देशव्यापी लक डाउन गरेपनि सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा २ दर्जन बढीले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। अहिलेसम्म त्यहाँ कोरोना भाइरसबाट ४ जनाको मृत्यु भएको छ भने सवारी दुर्घटनामा परी २७ जनाले ज्यान गुमाएका छन्।
कोरोना संक्रमणको दर कम त भएको छैन तर कोरोना भन्दा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या चैत यता २७ पुगेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीले बताए। सवारी दुर्घटनाको दर कोरोना भन्दा खतरनाक रहेको उनले बताए।
विगतमा सार्वजनिक सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढी हुने गरेकोमा लक डाउनको अवधिमा निजी सवारी दुर्घटनामा बढी व्यक्तिको मृत्यु भएको उनको भनाई छ। लक डाउनको अवधिमा खुला सडक भएका कारण तिव्रगतिमा सवारी हाँक्नु र चेकजाँच केही खुकुलो भएका कारण पनि दुर्घटना भएको उनले बताए।
आर्थिक वर्ष २०७५/०७६ मा दुर्घटनामा ७० जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष ०७६/०७७ मा ६९ जनाको मृत्यु भएको थियो। चालु वर्षको श्रावण महिनामा मात्र ५ जनाले ज्यान गुमाएका छन्। कोरोना महामारीका कारण राजश्व संकलनमा भने गिरावट आएको छ।
आर्थिक वर्ष २०७५/०७६ मा भन्दा गत आर्थिक वर्षमा कारवाहीमा पर्ने सवारीको संख्या कम रहेको छ। फलस्वरुप राजस्व संकलनमा पनि कमि आएको छ। आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ६३ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएकोमा आर्थिक वर्ष ०७६/०७७ मा एक करोड ४५ लाख २६ हजार रुपैयाँ मात्रै राजश्व संकलन भएको उनले बताए।
पछिल्लो समय लक डाउन खुकुलो भएसँगै देशका अन्य ठाउँमा पनि सवारी दुर्घटनाका घटनाहरु बढिरहेका छन्। सरकारले जिल्ला भित्र मात्रै सवारी सञ्चालनको निर्णय गरेपनि धेरै ठाउँमा पास लिएर एक जिल्लाबाट अर्को जिल्लामा जानेहरुको संख्या पनि बढिरहेको छ। संक्रमंण देखिएको ठाउँबाट अर्को ठाउँमा मानिसहरुको आवतजावत हुँदा कोरोना संक्रमणको दर पनि बढेको छ।

प्रतिक्रिया