राजनीति


बालुवाटारबाट तीन बुँदे प्रस्ताव आएको छ, चाँडै स्थायी समिति बस्छ : प्रचण्ड

बालुवाटारबाट तीन बुँदे प्रस्ताव आएको छ, चाँडै स्थायी समिति बस्छ : प्रचण्ड

नेपालखबर
साउन २९, २०७७ बिहिबार १४:१६,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवाद समाधानका लागि बालुवाटारबाट तीन बुँदे प्रस्ताव आएको बताएका छन्।

बिहीबार सातादिन लामो संवादहीनता तोड्दै प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको थियो।

ओलीसँगको छलफलपछि थापागाउँमा आफूनिकट प्रदेश ५ का केन्द्रीय सदस्यहरुसँग कुराकानी गर्दै प्रचण्डले बालुवाटारको प्रस्तावबारे जानकारी दिएका हुन्।

‘पार्टी र सरकार सञ्चालनको विषयमा भएको कमीकमजोरीको आत्माआलोचना, पाँचै वर्ष ओली प्रधानमन्त्री र कार्यकारी अध्यक्षलाई थप अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारीको प्रस्ताव आएको छ,’ भेलामा प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।

दुई अध्यक्षहरुको छलफलको क्रममा महासचिव विष्णु पौडेलले प्रचण्ड समक्ष त्यस्तो प्रस्ताव गरेको थिए।

भेलामा स्थायी कमिटीका सदस्य गोकर्ण विष्टसहित नेताहरुले महाधिवेशनको मात्रै काम गर्ने गरी आयोजक समिति बनाउने भनेर प्रधानमन्त्रीबाट प्रस्ताव आएको हो भनेर अध्यक्ष प्रचण्डसँग जिज्ञासा राखेका थिए।

तर, प्रचण्डले त्यस विषयमा छलफल नभएको जानकारी गराएको केन्द्रीय सदस्य मेटमणि चौधरीले बताए।

ओलीसँग ४ घण्टा लामो छलफल गरेपछि थापागाउँ पुगेका प्रचण्डले ओली स्थायी समिति अगाडि बढाउन तयार रहेको बताएको उनले जानकारी दिए

‘स्थायी समितिको बैठक सुचारु गर्न ओलीजी तयार रहेको बताउनुभयो,’ प्रचण्डको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘बैठकका एजेन्डा तय गर्न फेरि भोलि बैठक बस्छौं।’

सो छलफलमा प्रचण्ड सहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारयाणकाजी श्रेष्ठ पनि थिए। ओलीले पार्टीलाई विधि र प्रक्रियाकै आधारमा अघि बढाउन समेत तयार रहेको बताएको प्रचण्डले जनाएको ती केन्द्रीय सदस्यले बताए।

नेकपाको असार १० गते सुरु भएको स्थायी समितिको बैठक असार १८ गतेपछि बस्न सकेको छैन । प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा माग भएपछि ओली बैठकमै सहभागी भएका छैनन्। पछिल्लो पटक साउन १३ गतेको लागि तय गरिएको बैठक ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि प्रचण्डले बहुमत सदस्य लिएर बैठक सञ्चालन गरेका थिए। ओली प्रचण्डबीच नौ दिन कुनै संवाद नै भएको थिएन। बिहीबार संवादहीनता तोडेर उनीहरु छलफलमा जुटेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad