अहिले (बुधबार बिहान ७:१० बजे) काठमाडौं उपत्यकासहित देशका सबै प्रदेशमा तर केही स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौं उपत्यकामा पछिल्लोपटक बुधबार बिहान ४ बजेदेखि वर्षा भइरहेको हो। यसअघि मंगलबार साँझ पनि वर्षा भएको थियो।
बितेको २० घण्टामा उपत्यकामा ३२.६ मिलिमिटर वर्षा भएको उनले बताइन्। यो भनेको मध्यम वर्षा हो।
यस्तै देशका सबै प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ। भारी वर्षा भने अहिले कतै नभएको मौसमविद् कँडेलले बताइन्। ‘यो क्रम अझै केही घण्टा जारी रहने सम्भावना छ,’ नेपालखबरसँग उनले भनिन्।
मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पनि देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
‘प्रदेश नं ५, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ,’ बुलेटिनमा भनिएको छ।
यस्तै राति पनि धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बागमती प्रदेश, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ :
‘देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, प्रदेश नं ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका १–२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
मौसमविद् कँडेलका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ नेपालको केही नजिक छ। जसका कारण देशभर वर्षा भइरहेको हो। ‘यो क्रम अझै एक–दुई दिन जारी रहने सम्भावना छ,’ उनले भनिन्।

प्रतिक्रिया