ईश्वरी भुजेल हत्याका अभियुक्त उनका पति नेपाली ब्रो भन्ने कुमार थापा मगर र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बिहीबार थुनछेक आदेश गर्दै दुई जनालाई थुनामा पठाउने र दुईजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
उनीहरूसँगै पक्राउ परेका कुमारका भाइ विक्रम थापा मगर र उनका साथी सुजन थापालाई जनही एक–एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ।
अभियुक्त आचार्यले आफू र ‘नेपाली ब्रो’ बीचको प्रेम सम्बन्धका कारण भुजेको हत्यासम्मको परिस्थिति सिर्जना भएको बयान गरेकी छन्। बयानमा उनले भनेकी छन्, ‘म र प्रतिवादी नेपाली ब्रो भन्ने कुमार थापामगर बिच भएको प्रेम सम्बन्धका कारण निज प्रतिवादीले आफ्नी श्रीमती ईश्वरी भुजेललाई कर्तव्य गरी मार्ने सम्मको परिस्थिति सिर्जना भएको हो। यसमा कानुन बमोजिम सहन भोग्न मञ्जुर छु।’
तर आचार्यले आफू हत्याको योजनामा संलग्न नरहेको बताएकी छन्।
‘म आफु प्रतिवादी कुमार थापामगरसँग विवाह गर्ने उद्देश्यले ईश्वरी भुजेललाई मार्ने कार्यमा संलग्न छैन,’ बयानमा उल्लेख छ।
यस्तै उनले आफूहरूबीचको प्रेम सम्बन्धकै कारण परिवारमा पटकपटक घरझगडा हुने गरेको पनि बताएकी छन्। सोहीकारण नेपाली ब्रोले ईश्वरीको हत्या गरेको आचार्यले स्वीकार गरेकी छन्।
‘म र प्रतिवादी कुमार थापामगरबीच प्रेम सम्बन्ध रहेका कारण निजको घर परिवारमा पटकपटक घर झगडा हुने गरेको थियो। सोही कारण प्रतिवादी कुमार थापामगरले ईश्वरी भुजेललाई कर्तव्य गरी मारेका हुन्,’ बयानमा भनेकी छन्, ‘निज प्रतिवादी कुमार थापामगरले को कस्को मिलोमतोमा कर्तव्य गरी मारेको हो, सो बारेमा मलाई थाहा भएन।’
बयानमा उनले नेपाली ब्रोसँग टिकटकमार्फत् चिनजान भएर प्रेमसम्बन्धसम्म पुगेको खुलाएकी छन्। उनले नेपाली ब्रो विवाहित भएको थाहा पाउँदापाउँदै पनि प्रेम सम्बन्ध बनाएको स्वीकार गरेकी छ्न।
नेपाली ब्रोविरुद्ध वैवाहिक जबर्जस्ती करणी मुद्दा र सम्बन्धविच्छेद मुद्दाको टुंगो नलागेपछि अब कुनै सम्बन्ध नराख्ने र विदेश जाने सोच बनाएर एक महिनादेखि नेपाली ब्रो सँग नभेटेको आचार्यले बाएकी छन्। यद्यपि फोनमा भने कुराकानी भइरहेको उनको भनाइ छ।
हेर्नुहोस् बयानको पूर्णपाठ


प्रतिक्रिया