समाज


‘सञ्चार माध्यम कमजोर भए लोकतन्त्र बलियो हुँदैन’

‘सञ्चार माध्यम कमजोर भए लोकतन्त्र बलियो हुँदैन’

नेपालखबर
असार १९, २०८३ शुक्रबार १२:३८, ललितपुर

सरोकारवालाहरूले लोकतन्त्रको सुदृढीकरण, नागरिकको सूचनामा पहुँच र स्थानीय मुद्दाको प्रभावकारी उठानका लागि स्थानीय सञ्चार माध्यमको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ललितपुर महानगरपालिकाको सहयोगमा सञ्चालन गरेको स्थानीय तथा विकास पत्रकारिता तालिमको उद्घाटन कार्यक्रममा बोल्दै वक्ताहरूले स्थानीय सञ्चार माध्यमलाई बलियो बनाउन सके मात्र लोकतन्त्र बलियो हुने बताए।

उनीहरूले राज्यका सबै तहले सञ्चारमाध्यमका लागि समान अवसर र सहयोगको नीति अवलम्बन गर्नुपर्नेमा पनि जोड दिए।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले लोकतन्त्रमा सबै सञ्चार माध्यमलाई राज्यबाट समान व्यवहार हुनुपर्ने बताए। कुन सञ्चार माध्यमले सरकारी विज्ञापन पाउने वा नपाउने भन्ने निर्णय राज्यले गर्न नहुने उनको भनाइ थियो। उनले स्थानीय सरकार स्थानीय सञ्चार माध्यमसँग सहकार्य गर्न तयार रहेको पनि बताए।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य वीरेन्द्र ओलीले स्थानीय सञ्चार माध्यम अहिले चुनौतीपूर्ण अवस्थामा रहेको बताए। उनले स्थानीय सञ्चार माध्यमको संरक्षणमा स्थानीय तहले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। स्थानीय सञ्चार माध्यम बलियो भए मात्रै स्थानीय सरकारका गतिविधि प्रभावकारी रूपमा नागरिकसम्म पुग्ने उनको भनाइ थियो।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशकी कार्यवाहक अध्यक्ष रोजिना थापाले सञ्चार माध्यमको दिगोपनसँग पत्रकारको रोजगारी प्रत्यक्ष रूपमा जोडिएको बताइन्। सञ्चार संस्था सबल भए मात्रै पत्रकार सुरक्षित र व्यावसायिक रूपमा काम गर्न सक्ने उनको भनाइ थियो।

नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले सरकारी सूचना र विज्ञापन वितरणमा सबै सञ्चार माध्यमलाई समान अवसर दिनुपर्ने धारणा राखे। निजी तथा स्थानीय सञ्चार माध्यमलाई कमजोर बनाउने कुनै पनि नीति लोकतान्त्रिक अभ्यासका लागि उपयुक्त नहुने उनको भनाइ थियो।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले स्थानीय सञ्चार माध्यमले नागरिकका आवाज, स्थानीय विकास र समुदायका मुद्दा उजागर गर्दै आएको उल्लेख गरे। त्यसैले नियमनका नाममा स्थानीय मिडियालाई सरकारी सूचना र विज्ञापनबाट वञ्चित गर्न नहुनेमा उनले जोड दिए। 

कार्यक्रममा ललितपुर महानगरपालिकाकी प्रेस कोअर्डिनेटर रमा लुइटेलले नेपाल पत्रकार महासंघ ललितपुर शाखाले स्थानीय सञ्चार माध्यमसँग सहकार्य गर्दै क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिरहेकोमा खुशी व्यक्त गरिन्।

महासंघ ललितपुरका सहसचिव सौगात मिश्रका अनुसार तीन दिनसम्म सञ्चालन हुने तालिममा स्थानीय तथा विकास पत्रकारिता, समाचार लेखन, स्थानीय सरकारसँगको समन्वय, विकासका मुद्दाको खोजी तथा व्यावसायिक पत्रकारितालगायत विषयमा प्रशिक्षण दिइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad