नगर प्रहरीलाई पक्राउ गरेको विरोधमा कर्मचारी विरोधमा उत्रिएपछि महोत्तरीको गौशाला नगरपालिको कामकाज ठप्प भएको छ।
शुक्रबारदेखि नगरपालिकासहित मातहतमाका सम्पूर्ण कार्यालयको कामकाज बन्द गरिएको छ। वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालय बन्द गरिएको नगरपालिकाका कर्मचारीले जनाएका छन्।
निगौल गाई गौशाला व्यवस्थापन कार्यालय प्रमुख कान्तिकुमारी पाण्डेमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, गौशालाले आठ नगर प्रहरीलाई पक्राउ गरेको छ। असार १८ गते ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीको टोलीले कार्यालयमै प्रवेश गरी पक्राउ गरेको नगरपालिकाले जनाएको छ।
शुक्रबार नगरपालिकाका कर्मचारीले प्रेस विज्ञप्ति जारी गरी यस घटनाले सम्पूर्ण कर्मचारीले असुरक्षित महसुस गरिएको जनाएको छ। उनीहरूले पक्राउ परेका नगर प्रहरीलाई अविलम्ब रिहा गर्न माग गरेका छन्।
यससँगै स्थानीय तहका कर्मचारीको सुरक्षाको प्रत्याभूति नहुँदासम्म नगरपालिका, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयबाट सेवा प्रवाह नगर्ने चेतावनी दिएका छन्।
राष्ट्रिय सहकारी विकास बोर्डमातहतमा निगौल गाई गौशाला व्यवस्थापन कार्यालय रहेको छ। व्यवस्थापन कार्यालयको जग्गाबाट ढल निकास गर्न खोजेपछि रोक्न पुगेकी कार्यालय प्रमुख पाण्डेलाई नगर प्रहरीले कुटपिट तथा दुर्व्यवहार गरेको भिडिओ सार्वजनिक भएको थियो। त्यसका आधारमा प्रहरीले घटनामा संलग्न रहेका नगर प्रहरीलाई पक्राउ गरेको हो।
कार्यालय प्रमुख पाण्डेका अनुसार उच्च अदालत, जनकपुरधामले निगौल गाई गौशालाको मञ्जुरीबिना उक्त जग्गामा कुनै हस्तक्षेप नगर्न अन्तरिम आदेश जारी गरेको थियो। तर, नगरपालिकाले जर्बजस्ती ढल निकास गर्न स्काभेटर प्रयोग गर्न खोजेको थियो। त्यसले विवाद उत्पन्न भएको हो।
Shares

प्रतिक्रिया