समाज


नागरिकको जीवनमाथि गम्भीर खेलवाडः अस्पताल डुलाउँदा डुलाउँदै दुईको मृत्यु

नागरिकको जीवनमाथि गम्भीर खेलवाडः अस्पताल डुलाउँदा डुलाउँदै दुईको मृत्यु

नेपालखबर
साउन २७, २०७७ मंगलबार १५:२२,

कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएकोे जनाउँदै स्थानीय अस्पतालहरु उपचारमा पन्छिएपछि झापामा आज दुई जनाको मृत्यु भएको छ। मेचीनगर –५ का ११ वर्षीय सागर तामाङ र कनकाई –५ का १७ वर्षीय रोशन सुनारको मृत्यु भएको हो।

फुटबल खेल्दा सामान्य घाइते भएका दुवैलाई ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालहरुले पीसीआर परीक्षणबाट कोभिड –१९ नभएको रिपोर्ट ल्याएपछि मात्र उपचार गर्ने भनी एकले अर्कालाई रेफर गरेका कारण अस्पताल डुलाउँदा डुलाउँदै दुवैको मृत्यु भएको थियो।

सोमबार ज्वरो बढेकाले तामाङलाई उपचारका लागि राति १ बजे बिर्तामोडको कनकाई हस्पिटल पु¥याइएको थियो। कनकाईले बालकलाई बिएण्डसी हस्पिटल लैजान सिफारिस गरेको थियो।

बिएन्डसीले पनि धरान लैजान सिफारिस गरेको थियो। बिएण्डसी हस्पिटलले छातीको एक्सरे गरेपछि निमोनिया भएको ठहर गर्दै कोरोना संक्रमण हुन सक्ने आशंकासहित बिरामीको पीसीआर परीक्षण गर्न र धरान लैजान सिफारिस गरेको थियो। त्यसपछि बालकको उपचार अभावमै बिहान ४ बजेतिर मृत्यु भएको थियो।

यसैगरी कनकाईका सुनारलाई गए राति उपचारका लागि बिर्तामोडको बिर्तासिटी हस्पिटल लगिएको थियो। बिर्तासिटीले कोभिडसँग मिल्दोजुल्दो लक्षण भएको जनाउँदै अन्यत्र लैजान सिफारिस गरेपछि उनलाई कनकाई हस्पिटल लगिएको थियो।

कनकाईले मेची अञ्चल अस्पताल लैजान सिफारिस गरेको थियो भने मेची अस्पतालले आइसीयू खाली नभएको जनाई भद्रपुरकै ओमसाई पाथीभरा हस्पिटल पठाएको थियो। ओमसाईले कोभिड–१९ परीक्षण नभएको जनाई मेचीमै फर्काएको थियो। त्यसपछि मेची अस्पतालमा उनको मृत्यु भयो।

मेचीनगर–५ का वडाध्यक्ष योगेश थापा मगरले अस्पतालहरुले उपचार नगरी अन्यत्र पठाउने गरेकै कारण बिरामीको मृत्यु हुनु सर्वसाधारणको स्वास्थ्यमाथिको गम्भीर खेलबाड भएको बताए।

‘कोरोना महामारीको समय छ भन्दैमा अन्य बिरामीको उपचारै नगरी बेवास्ता गर्नु ठीक भएन’, वडाध्यक्ष थापाले भन्नुभयो, ‘उपचार नै नगर्ने हो भने हस्पिटल हुनु र नहुनुको के अर्थ रह्यो?’

बिएण्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले ज्वरो आएका बालकको उपचार गरिएको तर कोरोनासँग मिल्दोजुल्दा लक्षण देखिएपछि कोभिडको परीक्षण हुने र उपचार हुने अस्पतालमा लैजान सिफारिस गरिएको बताए। कोभिडको उपचार र पिसिआर परीक्षण बिएण्डसी हस्पिटलमा नहुने हुँदा शंकास्पद बिरामीलाई अन्यत्र पठाउनु बाध्यता भएको उनको भनाइ थियो ।

झापामा मेची अञ्चल अस्पतालमा मात्र कोभिड –१९ को पीसीआर परीक्षण र उपचार हुने गरेको छ। पच्चीस शय्याको आइसोलेशन वार्ड भने सङ्क्रमितले भरिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad