बागमति प्रदेशका ६ जना प्रहरी निलम्बनमा परेका छन्। बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले सेवाग्राहीसँग घुुस लिँदै गरेको अवस्थामा साउन २१ गते पक्राउ गरेको थियो।
उनीहरुलाई प्रदेश प्रहरी कार्यालयले मंगलबार निलम्बन गरेको हो। निलम्बन हुनेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ५ जना र काभ्रेका १ जना रहेका छन्।
उनीहरुले सवारी चालकसँग विभिन्न वहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय हेटौंडा लगिएको थियो। निलम्बन पर्नेमा २ जना प्रहरी हवल्दार र चार जना प्रहरी जवान रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुली र सो अन्तर्गतका कार्यालयमा कार्यरत हवल्दार राजकुमार श्रेष्ठ र डोरबहादुर कार्की, जवान कुमारबाबु सिंह, धिरेन्द्र साह, राम कुमार थापा र जिल्ला प्रहरी कार्यालय काभ्रे अन्तर्गतको ईप्रका मंगलटारमा कार्यरत जवान नबिन बहादुर थापा निलम्बनमा परेका हुन्।
निलम्बनमा पर्ने प्रहरी कर्मचारी जिल्ला प्रहरी कार्यालय सिन्धुली, ईलाका प्रहरी कार्यालय भिमान, खुर्कोट, मंगलटार, ढुंग्रेबास र अस्थायी ट्राफिक प्रहरी पोष्ट भिमानमा कार्यरत रहेका थिए।
निलम्बित प्रहरी कर्मचारीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक बिज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ। आफ्नो ड्यूटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउन बिशेष अभियान सञ्चालन गरिरहेको प्रदेश प्रहरी प्रमुख डीआईजी वशन्त लामाले बताए।
यसका लागि उनले वरिष्ठ प्रहरी अधिकृतको कमाण्डमा टाक्स फोर्स गठन गरेका छन्।
एक जना प्रहरी निरीक्षक सहित ११ जना प्रहरी कर्मचारी निलम्बित भैसकेका छन्। ड्यूटीमा ईमान्दारीता प्रर्दर्शन गर्ने २५ जना प्रहरी कर्मचारी पुरस्कृत भैसकेको वागमती प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए।

प्रतिक्रिया