रौतहटमा १६ वर्षीया किशोरीलाई भारत लगेर एक महिनासम्म बन्धक बनाई बलात्कार गरेको खुलासा भएको छ।
रौतहटको विजयपुर इलाका प्रहरी कार्यालयका अनुसार पीडितको उजुरीका आधारमा जिल्लाको गुजरा गाउँपालिका वडा नम्बर ५, सोनाडी निवासी २६ वर्षीय ममताज देवान फकिरलाई पक्राउ गरी अपहरण तथा बलात्कार मुद्दा चलाइएको छ।
‘उनलाई शनिबार पक्राउ गरिएको हो,’ विजयपुर इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक चन्द्रकिशोर साहले सोमबार बिहान नेपालखबरसँग भने, ‘अहिले जिल्ला प्रहरी कार्यालय (रौतहट) को हिरासतमा रहेका उनीविरुद्ध आइतबार अदालतबाट १० दिनको म्याद थप गराई अनुसन्धान भइरहेको छ।’
घटना यस्तो छ
अभियुक्त युवक विवाहित मात्र छैनन्, उनका ५ सन्तान पनि छन्। तर उनले गाउँकै १६ वर्षीया किशोरीसँग ‘प्रेम’ सम्बन्ध गरे।
यही क्रममा ती किशोरीको अन्तै बिहे गर्ने कुरा चल्यो। यो सुनेपछि उनले गत असार ८ गते खेतमा घाँस काटिरहेका बेला फकाउँदै ती किशोरीलाई मोटरसाइकलमा हालेर भारतको मुजफ्फरपुर लिएर गए। त्यहाँ १५–२० दिन राखे। त्यसपछि भारतकै छौडागन्ज राखे र पैसा सकिएपछि यही साउन १४ गते उनले ती किशाेरीलाई रौतहटको पतरिया नगरपालिका वडा नम्बर १ मा बाटामा ल्याएर छाडिदिए।
विजयपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्रकिशोर साहका अनुसार त्यसपछि पीडितले उजुरी दिइन्। तर युवक फरार थिए।
शनिबार घर आएको मौका पारेर उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक साहले बताए। त्यसपछि यही साउन २४ गते जिल्ला अदालत (रौतहट) मा उनीविरुद्ध अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो।
उनले किशोरीलाई भारत लान प्रयोग गरेको बीआर ०५ एस २७२६ भारतीय नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया