उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन्।
तीन जिल्लाका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले जोखिम बढेको भन्दै नियमित काम बन्द गर्ने निर्णय गरेको हो।
यस्तै बैठकले सरकारले लागू गरेको सवारी साधानमा जोर–बिजोर तथा हिँड्डुललाई थप कडाइका साथ कार्यन्वयन गर्ने निर्णय गरेको छ। जिल्ला समन्वयन समिति काठमाडौंमा भएको संयुक्त छलफलले निजी क्षेत्र तथा अन्य कार्यालयलाई पनि भीडभाड र चहल पहल कम हुने गरी काम सञ्चालन गर्न आग्रह गरेको छ।
याेसँगै निजी क्षेत्र तथा कार्यालय पनि आफ्नो कार्यालयको अत्यावश्यक बाहेक सेवा सञ्चालन नगर्ने निर्णय गर्न सक्ने भएका छन्। यसको निर्णय गर्ने जिम्मा सम्बन्धित कार्यालयलाई नै दिइएको छ।
सरकारले उपत्यकामा सवारी साधानमा जोर/बिजोर प्रणाली लागू गरेको छ। यस्तै राति ९ बजे पछि बिहान ५ बजेसम्म हिँड्डुल तथा सवारी साधान सञ्चालन गर्न पनि बन्द गरेको छ।
अत्यावश्यक कामका लागि भने जुनसुकै बेला आवातजावत गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनक दाहालले बताए।
आइतबारदेखि भदौ ८ गते सोमबारसम्म जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता, राहदानी लगायतका सेवाहरु स्थगित गरिएको छ। शान्ति सुरक्षा, सवारी पास, विपद् व्यवस्थापन लगायतका सेवा यथावत रहेको बताइएको छ।

प्रतिक्रिया