विचार


पुरुषलाई प्रेम माग्ने मात्रै अधिकार छ, खोस्ने होइन

पुरुषलाई प्रेम माग्ने मात्रै अधिकार छ, खोस्ने होइन

इन्दिरा पन्त
साउन २३, २०७७ शुक्रबार ९:५१,

गत साउन ८ मा काठमाडौंको सीतापाइलामा २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड आक्रमण भयो। अस्पतालमा उनलाई भेट्न मुस्कान खातुन पुगेकी थिइन्। वीरगञ्जकी १५ वर्षीया मुस्कानलाई २०७६ मा स्कुल जाँदै गर्दा एसिड छ्यापिएको थियो। त्यसअघि २०७६ कै जेठमा राजधानीको कालोपुलमा श्रीमानले श्रीमतीमाथि एसिड आक्रमण गरेका थिए। ०७१ सालमा काठमाडौंकै न्युरोडमा संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण भएको थियो।

किशोरी, महिलाहरुमाथि यो जघन्य ज्यादती किन हुन्छ र यस्ता घटनालाई कसरी रोक्ने भन्ने विषयमा पारिवारिक, सामाजिक र नीतिनिमार्ण तहमा गम्भीर विमर्श आवश्यक देखिएको छ।

वर्तमान समाजको सौन्दर्यशास्त्रले महिलाको रुपलाई सौन्दर्य शक्ति मान्छ। अर्थात् कुनै महिलालाई कुरुप बनाइयो भने ऊ कमजोर हुन्छे भन्ने आपराधिक मनोविज्ञानबाट निर्देशित भएर एसिड छ्याप्ने घटना हुने गरेका छन्। यस्ता घटनाको केन्द्रमा छ– यौनमाथिको नियन्त्रण। महिलाको सौन्दर्य ध्वस्त पारेर उसको यौनिक स्वतन्त्रता समाप्त गरिदिने सोचले पुरुषहरुले एसिड आक्रमण गर्ने गर्छन्।

प्रेम अस्वीकार गर्नेलाई एसिडले विरुप बनाउने पुरुष मानसिकता एक ठाउँमा होइन, सयौं ठाउँमा प्रकट भएको छ। तसर्थ यो विकृत मनोविज्ञान मात्र होइन, सामाजिक अपराधकै रुपमा स्थापित हुँदै गएको छ। मानिसमा पैदा हुने हिंसात्मक व्यवहारका अभिव्यक्ति र यसका कारणहरु सामाजिक, सांस्कृतिक, आर्थिक र मनोवैज्ञानिक अनुसन्धानका विषय पनि हुन्।

गत वर्ष झापाबाट विमानमा काठमाडौं आउँदै थिएँ। १२ वर्षकी एक बालिका आफ्नो सिट छाडेर म नजिक बस्न आइन्। उनको सिटमा एक पुरुष थिए।

‘मेरो सिटमा एकजना अंकल पर्नुभएको छ, तर मलाई केटा मान्छे पटक्कै मन पर्दैन, त्यसैले म हजुर संगै बस्छु है!’ उनले भनिन्।

मैले उनलाई सोधेँ, ‘तिमीलाई अंकलहरु किन मन पर्दैन नानु?’

‘मलाई अंकलहरु मात्र होइन, मेरो बाबा पनि मन पर्दैन,’ उनको जवाफ थियो।

निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाबारे उनले समाचार सुनिरहेकी रहिछन्। त्यसैले उनलाई कोही पुरुषप्रति पनि विश्वास थिएन। हरेक दिन विभिन्न प्रकृतिका महिला हिंसाका घटना सार्वजनिक हुन्छन्। कहिले बलत्कार, हत्या त कहिले एसिड आक्रमण। आफ्नै बाबुबाट छोरीहरु यौन हिंसाको सिकार भइरहेका छन्। यस्ता घटनाले नातासम्बन्धमाथिको विश्वास टुट्दै गएको छ र सामाजिक सम्बन्धमाथि नै प्रश्न उठ्दै गएको छ।

किन पुरुषहरु आक्रामक हुुन्छन्? शारीरिक आक्रामकता, मनोवैज्ञानिक आक्रामकता, जबर्जस्ती यौन, पीछा, नियन्त्रण आदिमा पुरुषहरु किन अग्रसर हुन्छन्?

वास्तवमा समाजमा जरो गाडेर बसेको लैङ्गिक असमानता र विभेदले लैङ्गिक हिंसा सिर्जना गरेको हो। महिलाको सार्वजनिक र निजी जीवनमा हुने शारीरिक, यौनिक, मनोवैज्ञानिक वा आर्थिक क्षति मानवअधिकार उल्लघंनको विषय हो, र यो सबै समाजमा विद्यमान छ। युरोपेली संघमै प्रत्येक १५ वर्षमाथिका तीन महिलामध्ये एक जनाले कुनै न कुनै समयमा लैंगिक हिंसा बेहोर्नुपरेको तथ्यांकले देखाउँछ। अन्य स्थानमा त्यो अझ बढी छ।

पुरुष महिलाप्रति आक्रामक बन्नुमा धेरै हदसम्म सामाजिकीकरण जिम्मेवार छ। मलाई लाग्छ, बाल्यकालदेखि नै समाजले पुरुषलाई निर्दयी बन्न सिकाउँछ। स्वार्थी र कठोर बनाउँछ। लोग्ने मान्छे भएर रुन हुन्न भन्ने समाजले अर्कातिर महिलालाई हाँस्न वर्जित गर्ने उखान बनाएको छ। जबकि, रुनु र हाँस्नु दुवै सुख र दुःखका अभिव्यक्तिहरु हुन्। जीवनका नैसर्गिक अधिकार हुन्। एउटाले हाँस्नै नपाउने र अर्काेले रुनै नहुने सामाजिक मनोविज्ञानले पुरुष र महिलाबीचको व्यवहारमा ठूलो विभेद पैदा गर्‍यो। समाजले पुरुषलाई अरुमाथि शारिरिक विजय प्राप्त गर्नु, धन सम्पत्ति र स्त्रीलाई एउटै कोटीमा राखेर दुवैको सक्दो भोग गर्नु पुरुषार्थ हो भनेर सिकायो र बहादुरीको मापदण्ड त्यसैलाई बनायो।

आफूले देखेको, अनुभव गरेको सामाजिक मान्यता र सांस्कृतिक परिप्रेक्ष्यबाट पुरुषहरु कठोर प्राणी बन्न पुग्छन्। लैङ्गिक भूमिकाको अवधारणालाई जैविक रुपमा प्रस्तुत गर्न मनोवैज्ञानिक र सामाजिक पक्ष आवश्यक हुन्छ। पुरुष मनोविज्ञान हिंसा र दमनमा आधारित देखिन्छ। चाहे त्यो सत्ताको कुरा होस् वा सम्पत्तिको, चाहे त्यो प्रेम वा विवाहको कुरा नै किन नहोस्। पुरुषको मनोवृत्ति लुटेर, खोसेर वा जबर्जस्ती भएपनि हासिल गर्नै पर्छ भन्ने देखिन्छ।

तसर्थ एसिड छ्याप्नेलगायतका आपराधिक घटना पनि शक्तिशाली हुन खोज्ने पुरुष अहंकारबाटै प्रेरित हुन्छन्। हरेक मान्छेभित्र कुण्ठा, आक्रोश र विद्रोह हुन्छ। जो बलियो र शक्तिशाली छ उसले भौतिक रुपमा अभिव्यक्त गर्दछ। भौतिक र मनोवैज्ञानिक रुपमा जबसम्म शक्ति र सत्ता पुरुषको नियन्त्रणमा हुन्छ, समाजमा यस्ता घटना दोहोरिरहन्छन्।

हाम्रो सामाजिक मनोविज्ञानमा विभेद यसरी घुसेको छ, पढेलेखेका पुरुष समेत हरेक हिसाबले आफूभन्दा कम क्षमता भएका महिला चाहन्छन्। ताकि परिवारमा आफूभन्दा शक्तिशाली कोही नहोस् र आफ्नो अहंकारले उचित तुष्टि पाइरहोस्। अधिकांश पुरुषले विवाह गर्दा आफूभन्दा कम उमेरकी श्रीमती होस् भन्ने चाहना राख्नुको कारण के हो? जवाफ सीधा छ– श्रीमतीको अनुभवले आफूलाई नदबाओस्। पत्नी आफुभन्दा बौद्धिक पनि नहोस्।

यस्तो सोच र संरचनालाई बदल्ने बेला आइसकेको छ। पुरुषहरुलाई पनि रुन दिनु पर्छ र महिलालाई हाँस्न पनि। पुरुषहरु नेतृत्वकर्ता हुन्, उनीहरु महिलाभन्दा अगाडि हुनु पर्छ भन्ने सामाजिक मान्यताले महिलामात्रै होइन, स्वयं पुरुष पनि पीडित छन्। त्यसैगरी, महिला भनेका भावनात्मक रुपले कमजोर हुन्छन् र आँसु नै उनीहरुको सहारा हो भन्ने बुझाइलाई पनि अब बच्चाहरु हुर्काउँदैदेखि बदल्न जरुरी छ। यस विषयमा परिवार, समाज, नीतिनिमार्ताको गम्भीर ध्यानाकर्षण गर्न आवस्यक छ। एउटा मालिक र अर्काे दासजस्तो होइन, महिला पुरुषको सम्बन्ध समानतामा आधारित हुनु पर्छ। महिला र पुरुष सामाजिक, आर्थिक र जैविक हिसाबले एक अर्कामा अन्तरनिर्भर छन्।

नभएको प्रभुत्व स्थापना गर्न शक्ति चाहिन्छ र शक्तिको आधार सधैँ हिंसा हुने हुनाले पुरुषत्व जोगाउने प्रयत्न गरुञ्जेल उसका हिंसात्मक अभिव्यक्ति रोकिने छैनन्। त्यसो हुँदा, छोरालाई कुनै विजेता जाति नठानी एक स्वभाविक सहयात्री मानेर हुर्काउने हो भने महिलामाथि भएका अत्याचार स्वतः घटेर जानेछन्। जसरी पुरुष सार्वभौम छ, स्वतः महिला पनि सार्वभौम हुन्। यो मान्यता स्थापित हुँदा यो हिंस्रकपन स्वाभाविक रुपमा नास हुनेछ।

कुनै पुरुषलाई महिलाको प्रेम माग्नेसम्म अधिकार छ, त्यसलाई खोस्ने, लुट्ने र बलात्कार गर्ने अधिकार छैन। न त, प्रेम प्रस्ताव अस्वीकार हुँदा कसैमाथि तेजाब खन्याउने अधिकार नै।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad