लगातारको वर्षाका कारण बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे-मार्तडी सडकअन्तर्गत बार्जुगाड प्रहरी चौकी नजिकै भीषण पहिरो गएको छ।
सोमबार रातिदेखि आएको अविरल वर्षाका कारण पहिरो गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए। पहिरो पन्छाउन दुईदेखि तीन दिन लाग्ने अनुमान गरिएको छ।
पहिरोको तराई क्षेत्रबाट आएका यातायातका साधान बार्जुगाडपारि रोकिएका छन् भने २० भन्दा बढी मालवाहक ट्रक मार्तडीबाट बल्देसम्मको सडक क्षेत्रमा रोकिएका छन्। लगातारको वर्षाका कारण सडक अवरुद्ध भएपछि सदरमुकामलगायत ग्रामीण क्षेत्रका स्थानीय हाटबजारमा दैनिक उपभोग्य सामानको अभाव भएको उद्योग वाणिज्य संघ बाजुराले जनाएको छ।
बाजुरामा सोमबारदेखि भीषण वर्षा भइरहेको छ । जिल्लाभरि धेरै ठाउँमा क्षति भएको हुनसक्ने अनुमान गरिएको छ। भारी वर्षाका कारण जिल्लाको सञ्चार सेवासमेत अवरुद्ध भएको छ । जिल्लामा सञ्चालनमा रहेका नेपाल टेलिकमका सम्पूर्ण सेवा प्रभावित भएका छन्।
धेरै ठाउँ फोन सम्पर्क नहुँदा क्षतिको विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। त्यस्तै बाजुराको बूढीगङ्गा नगरपालिकै डाव भन्ने ठाउँमा पनि साँफे–मार्तडी सडकमै माथिबाट ठूलो पहिरो आएर सडक अवरुद्ध भएको स्थानीयवासीले जानकारी दिएका छन्।
लगातार वर्षा भइरहेका कारण साँफे–मार्तडी सडक सञ्चालनमा समस्या देखिएको छ । लगातारको वर्षासँगै विभिन्न स्थानमा गएको पहिरोले भासिएको सडक पुनःनिर्माणमा भइरहेको ढिलाइका कारण सडक सञ्चालनमा समस्या देखिएको हो।
वर्षाकै कारण हरेक दिन नयाँ विकल्पसहित सडक निर्माणको काम शुरु गर्नुपर्ने बाध्यताले सञ्चालनमा ढिलाइ हुने सडक डिभिजन कार्यालय साँफेका इञ्जीनियर दमन विष्टले बताए। तत्कालका लागि पुरानै स्थानमा बाटो मर्मत गर्ने क्रम जारी भए पनि वर्षाले समस्या पारेको विष्टको भनाइ छ।
असार अन्तिम सातादेखि अवरुद्ध साँफे–मार्तडी सडक अझै खुल्न सकेको छैन । सडक सञ्चालनका लागि नयाँ रुट निर्माण वा पुरानै मर्मत भन्नेमै पनि बहस जारी छ। नयाँ निर्माण गर्दा पनि पहिरोमा भासिएको र थप बाटोसमेत पहिरोले क्षतविक्षत भएर थप निर्माण गर्नुपर्ने अवस्थामा आइपुगेको छ।
यसैबीच बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोले एक घर बगाएको छ। पहिरो अहिले पनि बगिरहेको स्थानीयवासी मदन थापाले बताए। पाँच घर पहिरोको जोखिममा परेका छन्। बूढीगङ्गा नदीले झोलुङ्गे पुल बगाएका कारण आवतजावतमा समेत समस्या भएको थापाले बताए।

प्रतिक्रिया