सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालको आयोजनामा शनिबार नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एन्ड वाक’ गरिएको छ।
नागढुङ्गा सुरुङमार्गको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्द्धन गर्ने उद्देश्यले दौड तथा पदयात्रा आयोजना गरिएको हो। नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालले नागढुङ्गा सुरुङमार्गको विषयमा सर्वसाधारणलाई आवश्यक जनचेतना अभिवृद्धि गर्ने र जानकारी गराउने उद्देश्यले ‘नागढुङ्गा टनेल रन एन्ड वाक’ गरिएको बताए।
नागढुङ्गा–नौबिसे सुरुङमार्गअन्तर्गत दुई हजार ६८८ मिटर लम्बाइ रहेको छ। सुरुआती ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ मै सम्पन्न हुनुपर्नेमा निर्माण कम्पनीको ढिलासुस्ती र स्थानीय बासिन्दाको अवरोधका कारण लम्बिएको आयोजनाले जनाएको छ।
आयोजनाका निर्देशक नेपालले साउनभित्रै नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए। आयोजनाका अनुसार काठमाडौँ प्रवेश तथा बाहिरिने नागढुङ्गा–नौबिसे नाका हुँदै दैनिक औसतमा दुई पाङ्ग्रेबाहेक करिब आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन गुड्छन्।
आयोजनाका निर्देशक नेपालले नागढुङ्गा–नौबिसे सडकखण्डबाट भित्रिने र बाहिरिनेमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको बताए। सुरुङमार्गमा दुई पाङ्ग्रे सवारीसाधन भने चलाउन नपाइने उनले बताए।
Shares

प्रतिक्रिया