पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणबाट चिकित्सक, सेना, प्रहरी र कारागारका कर्मचारीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले दिएको जानकारीअनुसार नारायणी अस्पतालमै कार्यरत एक चिकित्सकसहित एक सैनिक, २ प्रहरी र २ जना कारागारका कर्मचारीलगायत थप ३४ जनामा कोरोना संक्रमण देखिएको हो। साथै संक्रमितमा ६ कैदीबन्दी पनि छन्।
‘तीमध्ये १० महिला र ५ बालबालिका छन्,’ डा. उपाध्यायले नेपालखबरसँग भने। परीक्षणकाे नतिजा बुधबार बिहान आएको हो।
संक्रमित २ वर्षदेखि ६५ वर्षसम्म उमेरका छन् भने २० जना वीरगन्जका मात्रै हुन्। उनीहरू वीरगन्ज महानगरपालिका वडा नम्बर ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दा हुन्।
उनका अनुसार संक्रमण पुष्टि भएका व्यक्ति अहिले कोही घरमै त कोही सरकारले व्यवस्था गरेको क्वारेन्टिनमा छन्।
ती संक्रमितलाई अब कहाँ व्यवस्थापन गरिन्छ त ?
डाक्टर उपाध्यायाले भने, ‘यहाँ अस्पतालमा त बेड नै छैन, कहाँ भन्ने।’

प्रतिक्रिया