मुगुका २५ वर्षीय गणेश नेपाली लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गर्न चाहन्थे। कमजोर आर्थिक अवस्था भएको परिवारले गणेशलाई पढाउन ठूलो मेहनत गरेको थियो।
बुवाले सिलाइकटाइ गरेर जोहो गरेको रकमबाट गणेशले कृषि विषयतर्फको जुनियर टेक्निकल असिस्टेन्ट (जेटिए) अध्ययन गरेका थिए। गाउँमै बसेर केही गर्ने सपना उनले बोकेका थिए। गाउँका किसानसँगै काम गर्ने, कृषि प्राविधिकका रूपमा आफ्नो पहिचान बनाउने गणेशको सोच थियो।
त्यही सपना पूरा गर्न गणेश लोक सेवा आयोगको परीक्षामा तीन पटक प्रतिस्पर्धा गरे।
प्रत्येक पटक आशा बोकेर परीक्षा दिन्थे। नतिजा कुर्थे। तर उनको नाम सूचीमा कहिल्यै परेन। सरकारी सेवामा प्रवेश गर्ने गणेशको सपना खुम्चिँदै गयो। त्यसैबीच उनका बुबाले आँखाको ज्योति गुमाए। त्यससँगै घरको मुख्य आम्दानी पनि रोकियो। परिवारलाई थामिरहेको एउटा बलियो खम्बा ढलेपछि जिम्मेवारीको भारी बिस्तारै गणेश र उनका दाजु मदनको काँधमा आयो।
मदन कमाउन काठमाडौँ आए।
गणेश पनि आफ्नो भाग्य अजमाउन दाइसँगै काठमाडौँ आए। काठमाडौँ उनले सोचेजस्तो भएन। रोजगारी पाउन मुस्किल। गणेशले किस्ताबन्दीमा मोटरसाइकल किने। राइड सेयरिङ ‘पठाओ’ चलाउन थाले।
गणेश वैदेशिक रोजगारीमा पनि जान चाहन्थे। रकम जोहो गर्न मुस्किल थियो। उनले सोचेजस्तो जीवन भएन। श्रीमती, छोरीसँग भक्तपुरमा बसिरहेका गणेशले गत बिहीबार आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरे।
उनले त्यो भयानक कदम चाल्नुअघि काठमाडौँ महानगरपालिकाको नगर प्रहरीसँग विवाद भएको थियो। नगर प्रहरीसँगको विवादकै क्रममा उनले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा छर्की आगो लगाएका थिए।
५५ प्रतिशत शरीर जलन भएका गणेशको गत शनिबार उपचारकै क्रममा मृत्यु भयो।
***
सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटिया निवासी ३५ वर्षीय विवेक मण्डल एक वर्षदेखि बेरोजगार थिए।
एमएस्सीको पढाइ पूरा गरेपछि उनले केही समय महोत्तरीको गौशालास्थित एक विद्यालयमा तीन वर्ष पढाएका थिए। तर विद्यालयभित्रको राजनीतिक दबाबका कारण विवेकले शिक्षण पेसा छोड्नु परेको थियो।
त्यसयता उनी बेरोजगार थिए। विभिन्न विद्यालय र कलेजमा रोजगारीमा समेत प्रयास गरेका विवेकले लोकसेवाको परीक्षा पनि दिएका थिए। तर सबैतिर असफल भएपछि विवेक मानसिक रूपमा कमजोर बन्दै गएका थिए।
विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) गरेका विवेकलाई बेरोजगार बस्नुपरेको तनावले गाँज्दै लगेको थियो। उनलाई पढाउन परिवारले ३५ लाख ऋण लिएको थियो। ऋणको ब्याज बढ्दै थियो भने विवेकमा मानसिक समस्या।
पढाइमा राम्रो भए पनि जागिर नपाएको समस्या उनको मनमा आगोजस्तै सल्किरहेको थियो। विवेकले गत शुक्रबार आत्मदाह गरे। ८० प्रतिशतभन्दा बढी जलन भएका विवेकको सोमबार वीर अस्पतालमा मृत्यु भयो।
***
गत शनिबार काठमाडौँ बुद्धनगर निवासी व्यवसायी आश्विन राउतले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए।
पारिवारिक कलहका कारण उनले आत्मदाहको प्रयास गरेको परिवारले जनाएको छ। ६० प्रतिशत शरीर जलन भएका उनको शनिबार नै उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भयो।
रौतहटको गरुडा नगरपालिका–९ का २८ वर्षीय गौतमकुमार सहनीले पनि मङ्गलबार राति आत्मदाहको प्रयास गरेका छन्। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको ३१ प्रतिशत शरीरमा जलन भएको छ।
किन दोहोरियो आत्मदाहको घटना
एक साताभित्र चार जनाले आत्मदाहको प्रयास गरेका छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा सगुनबल्लभ पन्त यो ‘कपीक्याट सुसाइड’ भएको बताउँछन्। एउटा व्यक्तिले कुनै एक विधिबाट आत्महत्या गरिसकेपछि अर्को व्यक्तिले पनि त्यही विधि नक्कल गर्नुलाई ‘कपीक्याट सुसाइड’ भनिन्छ।
उनी आत्महत्याको एउटा घटनाले कत्तिको राजनीतिक माहोल तात्छ र सूचना कसरी फैलिन्छ भन्नेले यस्तो घटना बढाउने बताउँछन्।
‘त्यो व्यक्तिलाई हिजोसम्म कसैले पनि चिन्थेन। तर मृत्युपछि सबैले चिन्न थाले, त्यसले गर्दा आत्महत्याको सोच आइरहेको व्यक्तिले के सोच्छ भने त्यसरी मरियो भने आफ्नो कुरा राख्न सकिन्छ, सबैले चिन्छन्। अनि एकपछि अर्को आत्महत्याको घटना बढ्छ,’ उनले भने।
मानसिक रोग विशेषज्ञ पन्त आत्महत्याको समाचार सञ्चारमाध्यमले कसरी सम्प्रेषण गर्छ, त्यसलाई कसरी सनसनीपूर्ण बनाइन्छ भन्नेले पनि प्रभाव पार्ने बताउँछन्।
‘आत्महत्याको समाचार सम्प्रेषण गर्दा र सामाजिक सञ्जालमा राख्दा निकै संवेदनशील हुनुपर्छ,’ उनी थप्छन्, ‘आत्महत्यालाई ‘ग्लोरिफाइ’ गर्ने काम गर्नु हुँदैन, यसले झन् आत्महत्यालाई बढाउँछ।’
डा पन्त आत्महत्या गर्ने व्यक्तिलाई सहिद घोषणा गर्नुपर्छ भनेर आवाज उठ्नु पनि गलत भएको बताउँछन्।
‘सहिद घोषणा राज्यले गर्ने हो भने यसले आत्महत्यालाई बढाउँछ। सहिद भनेपछि सरकारले जीवनभर परिवारको आर्थिक दायित्व लिने भयो, त्यसले गर्दा अरूलाई पनि प्रोत्साहन गर्छ। म मरे पनि मेरो परिवारले आर्थिक सहयोग पाउँछ भन्ने सोच आउँछ। त्यसकारण यसलाई हामी कसैले पनि बढावा दिनु हुँदैन,’ उनी भन्छन्।
उनी आत्महत्याको घटनालाई ज्यादा चर्चामा नल्याउन आग्रह गर्छन्।
‘आत्महत्याको घटनाले जति चर्चा पायो, जति राजनीतिकरण भयो, त्यसको असर झन् बढ्छ। बरु हामी आत्महत्याको सोच आए ११६६ हेल्प लाइनमा फोन गरेर निःशुल्क परामर्श लिन सकिन्छ, मानसिक स्वास्थ्यका बारेमा खुलेर बोल्नुपर्छ भनेर प्रचारप्रसारलाई बढावा दिनुपर्छ,’ उनले भने।
आत्महत्याको समाचार सम्प्रेषण गर्न नेपाली मिडिया पनि चुकेको हो कि जस्तो लागेको उनले बताए। समाचारको शीर्षक चयन गर्दादेखि घटनाको प्रक्रिया, आत्महत्या कसरी गरियो भनेर प्रक्रिया समेत उल्लेख गर्न नहुने उनको भनाइ छ।
‘मानसिक स्वास्थ्यका विषयमा खुलेर बोल्न प्रोत्साहन गरौँ’
मानसिक रोग विशेषज्ञ डा सरोज ओझा पारिवारिक, सामाजिक र आर्थिक कारणले मानिसहरू गुम्सिएर रहेको बताउँछन्। आफूलाई भइरहेको समस्याबारे व्यक्ति आफैले पनि थाहा नपाउँदा समस्या झन् बढेको उनको भनाइ छ।
‘एक साता नबित्दै भइरहेका उस्तै प्रकृतिका घटनाले समाजमा मानसिक समस्या कसरी झाँगिएको छ भनेर देखाउँछ। मनभित्र गुम्सिएका कुरा लामो समय अरूलाई खोल्न नसक्नु, सुनाउन नसक्नुले चिन्ता, निराशा बढ्ने गर्छ,’ उनी भन्छन्।
डा ओझा नेपालमा भविष्य नदेख्नु, विदेश जानु पर्ने बाध्यता, नेपालमा शिक्षा, स्वास्थ्य महँगो, जीवनयापन गर्न गाह्रो, व्यक्तिगत स्वभाव, सामाजिक कारणले मानसिक समस्या बढाएको बताउँछन्।
‘आफ्नो परिवारको कुनै सदस्य तनावमा छ भने परिवारले ख्याल राख्नु पर्छ। व्यवहारमा परिवर्तन छ, पहिलाको भन्दा परिवर्तन देखिन्छ भने परिवारकै सदस्य, साथीभाइले नै हो सुरुमा पत्ता लगाउने,’ उनी भन्छन्, ‘परिवारले ख्याल राखेर कुराकानी गर्ने हो भने धेरै समस्या समाधान गर्न सकिन्छ।’
आत्महत्याको सूचनालाई सनसनी बनाउन बन्द गर्न उनले आग्रह गरे।
‘जति यो सूचनालाई बढावा दिइन्छ, त्यति नै यो क्रम बढ्छ। त्यसकारण अबको हाम्रो लक्ष्य यसलाई ‘ब्रेक’ लगाउन, न्यूनीकरण गर्नतिर हुनुपर्छ,’ उनी थप्छन्, ‘मानसिक स्वास्थ्यबारे सचेतना फैलाउनतिर ध्यान हुनुपर्यो, प्रचारप्रसार बन्द गर्नुपर्छ।’
डा पन्त अनुसन्धानले करिब ९० प्रतिशत आत्महत्या मानसिक स्वास्थ्यको समस्याको कारणले देखाएकोले समाजलाई मानसिक समस्याले निकै गाँजेको तर्क गर्छन्। उनले ९० प्रतिशत आत्महत्या उपचार नगरेको डिप्रेसनको कारणले हुन्छ भनेर अनुसन्धानले नै पुष्टि गरेको बताए।
‘यसले नेपालमा मानसिक समस्या जटिल हुँदै गएको, उपचारमा पहुँच कम हुँदै गएको र खुलेर यसको सेवा नलिएको पुष्टि हुन्छ। आवेगमा आएर आत्महत्याको कदम पनि मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएकै व्यक्तिहरूले चाल्दछन्। हामीकहाँ मानसिक समस्या हुन मानिस बोल्नै पर्छ भन्ने बुझाइ छ, त्यो गलत हो,’ उनी थप्छन्, ‘निराश, दिक्क, गुम्सिएर बसेको व्यक्तिमा पनि आत्महत्या गर्ने हुँदा परिवार बढी सचेत हुनुपर्छ।’
राष्ट्रिय तथ्यांक अनुसार दैनिक १८ देखि २० जनाले आत्महत्याको प्रयास गर्छन्। आत्महत्याको एउटा माध्यम आत्मदाह हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्की यस्ता घटनामा व्यक्तिका जीवनका कथा राखेर भावनात्मक बनाउन नहुने तर्क गर्छन्। आफूले संसदमा गणेश नेपालीको मृत्युपछि आत्महत्यालाई राजनीतिक विषय बनाउन नहुने भन्दा विरोध भएको भन्दै उनले यसले आत्महत्या झन् बढाउने विषयमा बुझाइ नै कम भएको बताए।
‘दिनमा औसत १८ जनाको आत्महत्या हुने देशमा छानीछानी कुनै आत्महत्यालाई राजनीतिक वा प्रमुख बनाउने हो भने समाचारमा भ्युज पाउन समाचारको सिद्धान्तविपरीत गरिरहने हो भने र व्यक्तिका जीवनभोगाइका कथालाई आत्महत्या हुने बित्तिकै केन्द्रमा ल्याइदिने हो भने यसले उस्तै किसिमको आत्महत्या गर्ने दर झन् बढाउँछ,’ कार्की भन्छन्।
उनले आत्महत्याको घटनालाई बढावा दिनुको साटो मानसिक स्वास्थ्यका कुरा खुलेर भन्न सक्ने बनाउनु पर्ने उनको भनाइ छ।
Shares

प्रतिक्रिया