समाज


कैलालीका दर्जनौं गाउँ डुबानमा, कर्णाली नदीको तटबन्ध भत्किने जोखिम बढ्यो

कैलालीका दर्जनौं गाउँ डुबानमा, कर्णाली नदीको तटबन्ध भत्किने जोखिम बढ्यो

दुर्गा देवकोटा
साउन १४, २०७७ बुधबार ३:३४,

मंगलबार रातिदेखिको लगातारको वर्षाले कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन्। अविरल वर्षाले सिँचाइ कुलो भरिएर बस्तीमा पस्दा कैलालीको जानकी गाउँपालिकाका अधिकांश ठाउँ जलमग्न भएका छन्।

नदी तथा कुलाको पानी गाउँ पसेपछि सयौँ घर डुबानमा परेका छन्। घरमा पानी पस्दा खाद्यान्न, अन्नपात भिजेर नष्ट भएका स्थानीयवासी शुभम चौधरीले जानकारी दिए।

जानकी-३, ७, ८, ९ का सयौँ घर डुबानमा परेको चौधरीले बताए। ‘कुलो फुटेर बस्तीमा पस्दा सयौं बिघा खेतीयोग्य जमिन पटानी भएको छ’, चौधरीले भने, ‘सयौँ घरमा अन्नपात र लुगाकपडा भिजेको छ । केही बस्ती सार्नुपर्ने अवस्था आएको छ । हामीले प्रहरीलाई खबर गरेका छौँ।’

टीकापुर नगरपालिका–५ शाहीपुर, सिम्रेनी, वडा नम्बर ६ को बेलुवा बस्ती पनि डुबानमा परेको छ । माथिल्लो तटको पानी बग्दै जाँदा यी क्षेत्रमा बाढीको खतरा बढेको छ । निरन्तर वर्षा भएपछि कर्णाली नदीमा निर्माण भएको तटबन्ध भत्कने जोखिम बढेको छ।

तटबन्ध भत्कन थालेपछि कर्णाली नदी बस्तीमा पस्ने खतरा बढेको स्थानीयवासी बडघर धर्मराज जैशीले बताए। ‘वर्षाले गाउँ जलमग्न भएपछि सबैतिरका सडक बन्द भएका छन्’, बडघर जैशीले भने, ‘उद्धारका लागि शाहीपुर–सिम्रेनी जानसक्ने अवस्था छैन । यस्तै वर्षा निरन्तर भइरहे स्थानीयलाई सुरक्षित ठाउँमा सानुपर्ने हुन्छ।’

त्यस्तै लगातारको वर्षाका कारण टीकापुरको जमरा नदीमा पानीको बहाव बढेको छ। जमरा कुलोमा पानी सहतभन्दा माथि पुगेपछि बस्तीमा बग्न थालेको छ।

पानी बस्तीमा पसेपछि मुनुवास्थित किसान बिजवृद्धि कृषि सहकारी संस्थामा रहेको २०० क्विन्टल गहुँको बीउ र मौज्दात मल भिजेर नष्ट भएको छ। नदी पुलभन्दा छ फिट माथिबाट बग्न थालेपछि सामान सार्न जानसक्ने अवस्था नरहेको दिलबहादुर चौधरीले जानकारी दिए।

टीकापुरमा रहेका सिँचाइ कुला भरिएपछि टीकापुरका सबैजसो बस्ती जलमग्न भएका छन्। टीकापुरमा सयौँ घरमा पानी पसेको स्थानीय दुर्गा बुढामगरले बताए।

उता कैलालीको भजनी र जोशीपुर क्षेत्र पनि डुबानमा परेको छ । भजनी र जोशीपुरमा पनि सयौँ परिवार विस्थापित हुने अवस्था आएको छ । भजनीस्थित पत्रकार कुसुम धामीका अनुसार भजनी–३ र ७ मा रहेका सयौँ घर डुबानमा परेपछि उनीहरुलाई उच्च स्थानमा सार्ने तयारी थालिएको छ।

यसैगरी जोशीपुर गाउँपालिकाका अधिकांश वडा जलमग्न भएका छन्। कान्द्रा र काँडा नदी सतहभन्दा माथि पुगेपछि जोशीपुर–१, ३, ५, ७ का अधिकांश बस्ती डुबानमा परेका स्थानीय पदम बोहराले बताए। ‘नदी भरिएर बस्ती डुबानमा मात्र परेका होइन, सयौं बिघा धानखेती पटानी भएको छ’, बोहराले भने, ‘रातभर वर्षा भएकाले अहिले डुबानमा रहेका बस्तीमा राहत तथा उद्धारका लागि तयारी भइरहेको छ।’

कैलालीका कर्णाली, मोहना, काडा, कान्द्रा, खुटियालगायतका नदीमा पानीको बहाव बढेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

रातभरिको वर्षापछि कैलालीमा बिहानैबाट प्रहरी उद्धारमा खटेको छ। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानले जानकी गाउँपालिकाका केही नागरिकलाई बस्तीबाट सार्ने तयारी गरिएको जानकारी दिए।

‘जहाँ–जहाँ जोखिम छ, त्यहाँ समूहमा प्रहरी परिचालन गरेका छौँ’, प्रहरी प्रमुख न्यौपानेले भने, ‘स्थानीयस्तरमा रहेका उच्च घर, सामुदायिक वन तथा विद्यालयमा सार्ने तयारी थालेका छौँ । जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा प्रहरी उद्धारमा खटेको छ । विवरण आउन बाँकी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad