समाज


बाढीपहिरो नियन्त्रणका लागि जुट्यो रकम

बाढीपहिरो नियन्त्रणका लागि जुट्यो रकम

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ११:१०,

वर्षासँगै मुलुकका विभिन्न स्थानमा आउनसक्ने बाढीपहिरो र डुबान समस्या रोकथामका लागि बजेट व्यवस्थापन हुने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायका उच्च पदाधिकारीको बैठकले तत्काल बजेट व्यवस्थापन गर्ने निर्णय गरेको हो।

आपतकालीन अवस्थामा दैवीप्रकोप नियन्त्रणका लागि छुट्टै बजेट व्यवस्था नहुँदा बाढीपहिरो नियन्त्रण प्रभावकारी नभएको गुनासो आएपछि मन्त्री पुनले सरोकारवालाहरुको बैठक राखेका थिए।

मन्त्री पुनको सचिवालयका अनुसार सो बैठकले तत्कालका लागि गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रोकथामका काम गर्ने निर्णय गरेको छ।

त्यसका लागि प्राधिकरणले जिल्लास्थित प्रदेश सरकारअन्तर्गतका जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय र स्थानीय तहसँग समन्वय गरी तत्कालको समस्या समाधान गर्ने निर्णय भएको मन्त्री पुनले बताएका छन्।

आपतकालीन बजेट तथा सबै जिल्लामा संघीय सरकारको सिंचाइ विभाग अन्तर्गतका निकायको अभावमा जोखिम न्यूनीकरणको काम गर्न नसकिएकाले वैकल्पिक व्यवस्था गर्न लागिएको मन्त्रीले बताएका छन्।

प्राधिकरणमा विपद व्यवस्थापन शीर्षकमा बजेटसमेत रहेकाले उसैको समन्वयमा काम गर्न सजिलो हुने मन्त्री पुनको भनाइ छ।

सो बैठकमा प्राधिकरणको बैठक तत्काल गरी रकम निकासा गर्ने सहमति भएको थियो।

त्यसका लागि अर्थमन्त्रालयले सहमति दिने अर्थसचिव शिशिरकुमार ढुंगानाले जानकारी बैठकमा जानकारी दिएका थिए।

जलस्रोत तथा सिंचाइ विभागका उप–महानिर्देशक प्रदीपकुमार थापाले तराइसहित सिन्धुपाल्चोक, पर्वत, गुल्मी, म्याग्दी, बागलुङ, बझाङलगायत जिल्लाबाट सम्भावित जोखिम रोक्नका लागि बजेट माग भएको जानकारी दिएका थिए।

थापाले तत्कालका लागि ३३ करोड र दिर्घकालका लागि दुई अर्ब रुपैयाँ आवश्यक पर्ने बैठकलाई जानकारी गराएका थिए।

बैठकमा अर्थसचिव शिशिरकुमार ढुंगाना, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, जलस्रोत तथा सिंचाइ विभागका उप–महानिर्देशक प्रदीपकुमार थापा र गृह मन्त्रालयअन्तर्गतको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad