समाज


सिटभरि यात्रु: ५० प्रतिशत बढी भाडा, छैन सुरक्षा

सिटभरि यात्रु: ५० प्रतिशत बढी भाडा, छैन सुरक्षा

पूर्णप्रसाद मिश्र
साउन ४, २०७७ आइतबार ११:२५,

उपत्यकाका सडकमा सार्वजनिक यातायातका सवारीका साधन फाट्टफुट्ट गुड्न थालेका छन्। सिट क्षमताभन्दा आधामात्र यात्रु राखी कोरोना भाइरसको संक्रमणबाट बच्न त्यस्ता सवारीमा सेनिटाइजरसमेत राखेर चलाउन सकिने निर्णय भए पनि सही रुपमा कार्यान्वयन हुन सकेको छैन।

सरकारले गत असार २६ गतेदेखि नै सुरक्षा विधि अपनाएर दुई जनाको सिटमध्येमा एक सिटमा एकजना यात्रु राखेर सवारी चलाउन सकिने निर्णय गरेको थियो। शुरुका दिनमा नचलेका सार्वजनिक यातायात हाल फाट्टफुट्ट चल्न थाले पनि सरकारले कोरोनाबाट बच्न बनाएका नियम भने लागू हुन सकेको छैन। यातायात व्यवसायीले सिट क्षमताभन्दा आधामात्र यात्रु राख्न पाउने नियम पालना नगर्दा दूरी कायम हुन नसक्ने देखिएको यात्रु मंगले तामाङले गुनासो गरे।

‘बौद्धबाट डिल्लीबजारका लागि आज यात्रा गर्दा बा३ख १९२२ नं सार्वजनिक यातायातमा अगाडिका सबै सिटमा यात्रु बसेका थिए, जानैपर्ने काम भएकाले पछाडिपट्टिको सिटमा गएर बसेँ, डिल्लीबजारमा झर्ने बेलामा परिचालकले भाडा साबिककामा ५० प्रतिशतभन्दा बढी नै लिए तर यात्रु राख्न पाउने नियमको भने बेवास्ता गरे, मैले यात्रा गरेको दूरीमा कतै पनि सवारीमा अनुगमन भएको देखिनँ’, उनले भने।

विगतदेखि नै यातायात व्यवस्था विभागले बनाएका नियम नमान्ने गरेका सार्वजनिक यातायातले यसपटक पनि त्यस्तै गर्न थालेको यात्रुको गुनासो छ। दूरी कायम नगरी यात्रु सवारीमा राख्दा कोरोनाको संक्रमण फैलन सक्ने भए पनि अनुगमन नहुँदा चालक, परिचालकले पुरानो बानी नसुध्रने देखिएको यात्रुको भनाइ छ। सिट क्षमताभन्दा आधा कम यात्रु राखेकैले लिन पाउने ५० प्रतिशत भाडा भने सिटभर यात्रु राखेर पनि असुल गर्न थालिएको छ।

विभागमा हालका लागि तोकिएभन्दा बढी यात्रु राख्न थालेको गुनासो आउन थालिसकेको महानिर्देशक गोगनबहादुर हमालले बताए। सिट क्षमताको आधाभन्दा बढी यात्रु राख्नेलाई स्थलगत रुपमै कारवाही गर्न ट्राफिक प्रहरीलाई भनिएको विभागले जनाएको छ।

‘सडकमा खटिने ट्राफिकले सिट क्षमताभन्दा बढी यात्रु राखे/नराखेको अनुगमन गर्छन्, सार्वजनिक सवारीमा चढ्ने यात्रुले पनि आफू सँगैको सिटमा अर्को यात्रु बसेमा ट्राफिक प्रहरीको १०३ नं मा फोन गरेर जानकारी गराउन सक्छ, सिट क्षमताको आधामात्र यात्रु राख्नकै लागि ५० प्रतिशत भाडा बढाइएको हो’, उनले भने।

हाल आएका गुनासो सम्बोधनका लागि प्रक्रिया अघि बढाइसकिएको छ। सिट क्षमताभन्दा आधा कम यात्रु राख्ने विषय जनताको स्वास्थ्यसँग सम्बन्धित रहेकाले अनिवार्य रुपमा अक्षरशः पालना गर्न विभागले आह्वान गरेको छ।

विसं २०७५ फागुन मसान्तसम्म ३५ लाख ३९ हजार ५१९ सवारी साधन दर्ता भएको विभागको वेभसाइटमा उल्लेख छ। जसमा बस ४९ हजार ३१८, मिनिबस/मिनिट्रक २५ हजार ५९५, माइक्रो सात हजार ६५८, टेम्पो ४५ हजार ६७२ दर्ता भएको छ।

यसैगरी क्रेन/डोजर/एस्काभेटर/ट्रक ९० हजार ४११, कार/जिप/भ्यान दुई लाख ३७ हजार ६५८, पिक अप ५५ हजार ९७३, मोटरसाइकल २५ लाख ३० हजार ७२२, ट्रैक्टर पावरलेटर एक लाख ४३ हजार ९६२, ई रिक्सा २६ हजार ४६६ र अन्य सात हजार ६०७ दर्ता भएको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad