कारोबार


संघ र युनियनबीच होटल बन्द भए पनि कर्मचारीले ४३ सयदेखि १० हजारसम्म मासिक तलब पाउने सम्झाैता

संघ र युनियनबीच होटल बन्द भए पनि कर्मचारीले ४३ सयदेखि १० हजारसम्म मासिक तलब पाउने सम्झाैता

नेपालखबर
साउन ४, २०७७ आइतबार ११:२७,

होटल संघ नेपाल (हान) र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील मुख्य तीनवटा केन्द्रीय ट्रेड युनियन संघबीच छबुँदे सम्झौता भएको छ।

हानले प्रेस विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार श्रम ऐन कानुनबमोजिम सेवा सुविधा उपलब्ध गराउन कठिन भएको अवस्थामा आफ्ना श्रमिक तथा कर्मचारीलाई व्यवस्थापन गर्नका लागि सम्झौता भएको हो।

सम्झौताअनुसार होटल बन्द भए पनि कर्मचारीले होटलको वर्गीकरणअनुसार मासिक रकम पाउने भएका छन्।

कोभिड–१९ को महामारीबाट सृजित अवस्थाको असर ३१ डिसेम्वर, २०२० सम्म रहन सक्ने आँकलन गरी अप्रिल १३, २०२० देखि डिसेम्वर ३१, २०२० सम्मका अवधिका लागि सम्झौता भएको हान अध्यक्ष सृजना राणाले विज्ञप्तिमा जनाएकी छिन्।

विज्ञप्तिमा भनिएको छ, ‘यस विषम परिस्थितिमा दुवै पक्षको लगातार बैठकमार्फत ‘बाँचौँ र बचाऔँ’को नीति अख्तियार गरी सहकार्य गर्ने सहमति गरियो। यो सम्झौताले दुःखको बेलामा पारिवारिक एकता समेत प्रदर्शित भएको छ।’

होटल संघ नेपालका अध्यक्ष सृजना राणा, नेपाल स्वतन्त्र होटल मजदुर युनियनका तर्फबाट अध्यक्ष सूर्य कुँवर, अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजुर संघको तर्फबाट अध्यक्ष माधव पाण्डे र नेपाल पर्यटन तथा स्वतन्त्र होटल सम्बद्ध श्रमिक संघका तर्फबाट अध्यक्ष खेमराज खड्काका साथै अन्य जिम्मेवार पदाधिकारीहरुको रोहबरमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो।

यस्ता छन् सहमतिका बुँदाहरु
१. क) यो सम्झौता अप्रिल १३, २०२० देखि ३१ डिसेम्वर, २०२० सम्म लागू हुनेछ ।
ख) डिलक्स पाँचतारे (दुई सयभन्दा माथि कोठा भएको) होटल तथा सोहि स्तरको रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक रू.१० हजार) रकम उपलब्ध गराइनेछ ।
(ग) दुई सय कोठा भन्दा कम भएको पाँचतारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक ९ हजार रकम उपलब्ध गराइनेछ ।
(घ) सय कोठा भन्दा बढि भएको चार तारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक रू.८ हजार ४ सय ५५ रूपैयाँ उपलब्ध गराइनेछ ।
(ङ) सय कोठा भन्दा कम भएको चार तारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक रू.८ हजार रकम उपलब्ध गराईनेछ ।
(च) तीन तारे तथा सोहीस्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक रू. ५ हजार रकम उपलब्ध गराईनेछ ।
(छ) दुई तारे तथा सोहीस्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक रू. ४ हजार ३ सय रकम उपलब्ध गराईनेछ ।
(ज) एक तारे र पर्यटक स्तरीयको होटल तथा रिर्सोटहरूले आपसी समझदारीमा रकम उपलब्ध गराइनेछ ।
(झ) यो सम्झौता अवधिभरी माथि उल्लिखित रकम बाहेक अन्य सुविधा उपलब्ध गराइने छैन् ।
(ञ) होटल सञ्चालन गर्नको लागि आवश्यकता बमोजिम व्यवस्थापनले चक्रीय प्रणाली अनुसार आलोपालो गरी काममा लगाइएका श्रमिक, कर्मचारीहरुलाई साबिक अनुसार पारिश्रमिक भुक्तान गर्नुपर्नेछ । काममा नबोलाइएको ⁄ नलगाएको श्रमिक, कर्मचारीहरुलाई यसै सम्झौतामा उल्लेख गरिए बमोजिमको रकम भुक्तान गनुपर्नेछ । प्रतिष्ठान व्यवस्थापन पक्षले काममा बोलाएको अवस्थामा उपस्थित भई आफ्नो कार्य गर्नु श्रमिक, कर्मचारीहरुको कर्तव्य हुनेछ ।
ट) बन्दाबन्दीको अवस्था रहेसम्म प्रत्येक महिना २ (दुई) दिन र बन्दाबन्दी खुलेपछि प्रत्येक ३० (तीस) दिन काममा नवोलाएमा ४ (चार) दिनका दरले यो सम्झौताको अवधिभरी हुन आउने सञ्चित बिदाबाट कट्टा गरिनेछ ।

२. यो सम्झौतामा उल्लिखित शर्त र सहमतीहरु ३१ डिसेम्वर, २०२० सम्म लागू हुनेछ र त्यस पछिको अवस्थालाई मूल्यांकन गरी आपसी समझदारीमा टुंगो लगाइनेछ ।

३. यो सम्झौताको कार्यान्वयन र परिपालन गराउने कार्य होटल संघ नेपाल र पर्यटन तथा होटल क्षेत्रमा क्रियासिल केन्द्रीय स्तरका सम्झौताकर्ता ट्रेड युनियन संघहरू बीच गठन भएको अधिकार सम्पन्न संयुक्त कार्यदलले गर्नेछ ।

४. सम्झौता अवधिभित्र स्वेच्छिक अवकाश लिन चाहने, आफ्नो स्वेच्छाले राजिनामा दिई सेवाबाट अलग हुन चाहने र उमेरको हदको कारण अवकाश पाउने वा अन्य अवस्थामा श्रमिक, कर्मचारीको सेवा अन्त्य हुदाँ बन्दाबन्दी अगाडि खाईपाई आएको सुविधा दिई सेवा अन्त्य गर्न पाइनेछ ।

५. यदि कुनै श्रमिक वा कर्मचारीले उल्लेखित सम्झौता अवधिभर रकम प्राप्त गरी सम्झौता अवधि समाप्त भएपछि एक महिना अगावै सुचना नदिई तुरुन्तै कामबाट अलग हुन चाहेमा यो सम्झौता अनुसार निजले बुझिलिएको रकम निजले प्रतिष्ठानबाट पाउने उपदान वा अन्य कुनै शिर्षकको रकमबाट कट्टी गरिनेछ ।

६. यो सम्झौतामा उल्लिखित शर्तहरु दुवैपक्षको लागी बाध्यकारी हुनेछ । यो सम्झौतामा उल्लेख गरिए बाहेक अन्य विषयहरुमा प्रतिष्ठानस्तरका क्रियाशिल यूनियनहरुसँग बसी छलफल गर्न सकिनेछ । साथै यो सम्झौता हुनु भन्दा अगावै प्रतिष्ठान स्तरको युनियनसँग गरिएको सम्झौता तथा सहमति कायम रहनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad