स्थानीयले निर्घात कुटपिट गर्दा काठमाडौंको ताकेश्वर नगरपालिका ५ गोलढुंगामा एक युवाको मृत्यु भएको छ।
होहल्ला गरेको भन्दै बिहीबार राति स्थानीयले रसुवा घर भई ककुरधारामा डेरा गरी बस्ने २४ वर्षीय छिरिङ तामाङलाई निर्धात कुटपिट गरेका थिए।
कुटपिटको कारण गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा टिचिङ अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी रञ्जितसिंह राठोरले जाकारी दिए।
राति करिब १२ बजे साथी दाेर्जे तामाङसँग डेरामा फर्किंदै गर्दा उनीमाथि कुटपिट भएको हो।
‘कुटपिटमा संलग्न कृष्णबहादुर श्रेष्ठसहित स्थानीय चार जनालाई नियन्त्रणमा लिएका छौँ,’ डिएसपी राठोरले शनिबार बिहान नेपालखबरसँग भने, ‘सबैको नाम अहिले नभनौँ, नियन्त्रणमा लिइएका चारमध्ये दुई जनाको घटनामा प्रत्यक्ष संलग्नता देखिन्छ।’
मदिरा सेवन गरेका तामाङद्वय राति बाटोमा हिंड्दै गर्दा स्थानीय कृष्णबहादुर श्रेष्ठको कुकुर भुकेको थियो। भुक्दै गरेको कुकुरलाई उनीहरुले होहल्ला गर्दै ढुंगा प्रहार गर्न थालेपछि विवाद सुरु भएको थियो।
डिएसपी राठोरका अनुसार त्यसपछि कुकुरधनी श्रेष्ठसहितका स्थानीयले तामाङलाई नियन्त्रणमा लिएर निर्धात कुटपिट गरेका थिए। टाउकोमा गम्भीर चोट लागेका छिरिङलाई प्रहरीले उपचारको लागि अस्पताल पुर्याएको थियो। उपचारकै क्रममा उनको बिहीबार राति नै मृत्यु भएको हो।
छिरिङका साथी दोर्जे पनि कुटपिटबाट गम्भीर घाइते छन्। उनको काठमाडौं नयाँबजारमा रहेको पिपुल्स अस्पतालमा उपचार भइरहेको डिएसपी राठोरले बताए।

प्रतिक्रिया