नेपाल भूतपूर्व सैनिक संघका पूर्व अध्यक्ष एवं पूर्व सांसद मेजर दिपकबहादुर गुरुङको निधन भएको छ। उनको शुक्रबार दिउँसो २ः३० बजे काठमाडौं स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ।
वि.स. १९९३ असार १० गते कास्कीको नार्माजुन गाविस–३ मा जन्मेका गुरुङ व्रिटिश आर्मीबाट रिटायर्ड मेजर थिए। उनले तत्कालीन समयमा बेलायतकी महारानी एलिजावेथ द्वितीयको सेरेमोनियल एडीसीको रुपमा समेत कार्य गर्नुका साथै लामो सैनिक जीवनपछि भूपू सैनिक समुदाय र जनताको सेवामा समर्पित भएर उल्लेखनीय कामहरु गरेका थिए।
व्रिटिश गोर्खाको समान पेन्सनको आन्दोलन तथा गोर्खालीले पु-याएको योगदान र वलिदनको कदर गर्दै आवासीय भिसाका लागि गरिएको आन्दोलनहरुको उनी एक नेतृत्वकर्ता थिए। स्वर्गीय गुरुङ नेपाल भूतपूर्व सैनिक संघको तीन कार्यकालसम्म अध्यक्ष भए। उनले नेपालको लोकतान्त्रिक आन्दोलनहरु तथा पार्टीको संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।।
सभापति देउवाले भनेका छन्, ‘नेपाल भूतपूर्व सैनिक संघका पूर्व अध्यक्ष एवं पूर्व सांसद मेजर दिपकबहादुर गुरुङको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ। पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएका मेजर दिपकबहादुर गुरुङको निधनबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ।’
Shares

प्रतिक्रिया